टोखाबासीलाई चाकु बनाउन भ्याइनभ्याइ

 0  16
टोखाबासीलाई चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं । माघेसंक्रान्तिमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौं टोखाका व्यवसायीहरुलाई चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको छ। काठमाडौंका अन्य स्थानको तुलनामा टोखामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ ।

माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो । अहिले नै चाकु किन्ने तथा खरिदका लागि बुकिङ गर्न व्यवसायीहरू त्यहाँ पुग्ने गरेका छन्। 

चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । टोखाको चाकु काठमाडौंका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।

 टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउँछन् । अध्यक्ष श्रेष्ठका अनुसार ‘टोखाका चाकु उद्योगीले वार्षिक रू ३० लाखदेखि ४० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्री वितरण गर्दै आएका छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow