फूलमायाको चिठी

फूलमायाको चिठी

 1  117
फूलमायाको चिठी

दिनांक : बैशाख १‚ २०७८

         जेपी सापकोटा


(नयाँ बर्ष २०७८ सालको पहिलो दिन, उनले यो भावना पोखिन् । मैले शब्दमा उतारिदिएँ । खै‚ यसले के सन्देश दिन्छ कुन्नी? तरपनि यो चिठी बरालिएकाहरु समक्ष पुगोस् है ।)

मेरो प्यारो प्रवासिएको राजा‚
धमिलो सम्झना..... !


‘म अर्को साल‚ यसैदिन अर्काकी हुनेछु ।’
पत्र पढ्दा तिमी झस्कियौ होला हगि ! हो‚ अर्को बर्ष आजकै मितिमा म अर्को विवाह गर्दैछु ।


छुट्टीमा घर फर्केको ‘मलेसियन लाहुरे’सँग मेरा बुबाआमाले लगनगाँठो जोडिदिएको आज ठ्याक्कै ४ बर्ष पूरा भएछ ।
त्यही लगनगाँठोलाई‚ र् बर्षगाँठलाई र आजसम्म सम्हालेर राखेको सतित्व भित्र बाँधिएको मेरो उर्लदो बैसलाई साक्षी राखेर
म तिमीलाई एक बर्षे ‘अल्टिमेटम’ दिँदैछु । तिमीसँग विवाह गरेको पाँचौं बर्षगाँठ मेरो लागि वास्तविक वैवाहिक यात्राको
श्रीगणेश हुनेछ । म त्यसदिन मन्दिर जान्छु । ईश्वर साक्षी राख्छु । मेरो यौवन साक्षी राख्छु । मेरा आकांक्षा‚ इच्छा र
उदेश्यहरु भगवानलाई सुनाउँछु । मेरो साथीसँग सापटी मागेको खर्चले श्रृंगार किन्छु‚ र दुलही सिँगारिन्छु । त्यो बिहेमा
म मेरा अभिभावकको साहारा लिन्न । जन्ती‚ बाजबागाजा वा अन्य सामाजिक औपचारिकता वास्ता गर्दिन । लगनगाँठो
लिएर सातफेरा पनि घुम्दिन । बेहुली अन्मिँदा रुन्न । र‚ सबैभन्दा ठूलो कुरा म अब दुलही सिँगारिँदा घुम्टोचाँही
किँमार्थ ओड्ने छैन ।

अतित तिर फर्क त !

विवाह गर्नुपूर्व तिमीले अझै दुई बर्ष विदेश बस्ने शर्त राखेका थियौ । मलाई नमीठो लागेपनि बाबुआमाको भनाइलाई
काट्न नसकेर स्वीकार गरें । विवाह गरे लगत्तै तिमी मेरो उर्लदो बैंसलाई एक हप्ता खल्बल्याएर परदेशिएका थियौ ।
हिड्ने बेलामा आँशु चुहायौ । दुईबर्ष भन्दा बढी प्रदेश नबस्ने कसम खायौ । भविष्यको मीठो सपना देखायौ । मैले पनि
सुखको आशमा तिम्रो प्रस्ताव स्वीकारे, तर तिमी फर्केनौ । समय लम्ब्याँउँदै गयौ । म अरु द्इु बर्ष पर्खे । आज चारबर्ष
पूरा भएछ । तिमीले घर फर्कने कुनै सङ्केत समेत गरेका छैनौ । एउटी नारीको सार्थकता पतिसँग रमाउनुमा हुन्छ ।
सन्तान जन्माउनुमा हुन्छ । घुम्ने‚ रमाउने‚ र जोरीपारीलाई देखाउने लहडमा हुन्छ । आजै थाहा पाएँ‚ तिमी त फेरिपनि
भिसा थपेर उतै रमाउन थालेछौ। तिमी अचेल अलि बदलिएका पनि छौ । महिना दिन पुग्ने बित्तिकै दु:खको कमाई घर
पठाउने र फोनमा मीठा मीठा अनुराग साट्ने तिम्रो स्वभाव अहिले बदलिएको छ । काम नपाएको‚ बिरामी परेको बहाना
बनाउँदै छौ । सुन्दैछु तिम्रो शहरमा छिमेकी मुलुकका परीहरु बस्छन् रे । अचेल तिमी तिनै परीहरुको परिधानमा छौ रे
। महिनैपिच्छे ‘बर्थडे केक’ काट्छौ रे । पीज्जा र वर्गरसँग भावना साट्छौ रे । हिव्स्की‚ रम र रासलीलामा रमेका छौ रे
। महिनादिनको मजुरी एकै रातमा उडाउँछौ रे ....।

अहँ ! मैले यी सबै कुरा पटक्कै पत्याएकी छैन । विश्वास गरेकि पनि छैन । मेरा बाबु आमाले रोजेको र तिम्रै पर्खाइमा
विक्षिप्त बनेकी आफ्नी जीवन सँगिनीलाई बिर्सेर तिमी जूठो कचौरामा रमेका छौ भन्ने म किमार्थ सोच्नपनि सक्दिन ।
तिमीलाई कुनै फत्तुर लगाउँदिन‚ न त केरकार वा नाटिकुटीतिर नै लाग्छु । बरु अब म आफैर्लाई बदल्ने सुरसारमा छु
। हो‚ म अचेल आफन्त‚ ईष्टमित्र‚ कुलकुटुम्ब‚ नातागोता‚ जोरीपारीको व्यवहारले समेत आजीत भएकी छु । थाकी
सकेकी छु । मुख्य कुरो त म अब आफैंलाई थुम्थुम्याउन नसक्ने भएकी छु । निस्सारताको पछि दगुर्न छोडिसकेकी छु ।
स्वतन्त्र जीवन बाच्ने मार्ग रोजेकी छु । विश्वास गर‚ तिमीले विदेशमा कमाएर पठाएको लटिपटी लिएर कसैसँग
सुँइकुच्चा ठोक्ने म मा रहर छैन । म कदाचित् तिम्रै सम्पत्ती रित्याएर‚ तिम्रै नाउँको सिँदुर पोते पहिरिएर परपुरुषसँग
संबन्ध राख्न सक्दिन । न त म तिमीलाई झुक्याएर नै कसैसँग पोइल जान्छु । म परपुरुषसँगको क्षणिक स्वार्थमा
डगमगाएकी छैन र डगमगाउँदिन पनि । बरु तिमीले बर्षौ लगाएर कमाएको‚ खाइ–नखाइ बचाएको पैसाले जोडेको त्यो
जग्गाको सानों टुक्रा तिमै नाउँमा बकपत्र बनाएर छोडिदिन्छु । तिमी र तिम्रो आर्जनबाट किनेका सबै चिजबीज‚ हाम्रो
बिहेमा तिमीले दिएका गरगहना‚ सिन्दूर पोते र बाँकी रहेका अन्तर बस्त्र समेत सबै चिज कन्तुरोमा ताल्चा लगाएर
तिमीलाई छोडेर जाँदैछु ।

तिमीले सुनेकै होला — अचेल हाम्रो समाजमा परदेशिएका लोग्ने वा स्वास्नीको आर्जनमाथि होली खेल्ने संस्कार बढ्दो छ। सम्पत्ति लिएर स्वास्नीहरु पोइल जाने वा लोग्नेहरुले सौता हालेर बस्ने गरेका आरोपहरु छ्यास्छ्यास्ती सुनिने गरेका
छन् । वैदेशिक रोजगारका चक्करमा कतिका घरबार बिग्रिएका छन् त कतिका इज्जत र सम्पत्ति । यसैको आवरणा
नेपाली चेलीबेटीहरु विश्वका धेरै वेश्यालयहरुमा बेचिइसकेका समाचार समेत नौला हुन छाडिसकेका छन् । एकातिर
दाइजोको निहुँ‚ परंपरागत सोच र शहरीया आडम्बरीले नारी अस्मितालाई कौडीको दर्जा नदिने प्रवृत्ति बढेको छ ।
पछिल्लो समयमा वैदेशिक रोजगारका चक्करमा कतिका घरबार बिग्रिएका छन् त कतिका इज्जत र सम्पत्ति । आफूलाई
‘मोर्डन गर्ल’ संज्ञा दिएका केही युवतीहरुले विवाह गरेको बर्षदिन नपुग्दै ‘डिभोर्स’को कागजमा सही छाप गराउन बाध्य
पारेर इज्जत र अंश दुबै लुटेर हिँडेका घटना समेत समाजमा सुनिन थालेका छन् । ‘वंश छोड‚ अंश तोड’ भन्ने
आडम्बरी प्रबृत्ति मौलाउँदै छ भन्ने सुनिन्छ । यो प्रवृति समाजमा विस्तारै मूना हाल्दैछ‚ हुकिँर्दैछ र बिषबृक्षको रुपमा
झागिँदैपनि छ । स्वार्थ र अविश्वासले समाजिक मूल्य मान्यता स्खलित हुँदैछ । हुनत यसलाई कतिले पितृसत्ताको बिस्तारै
अवसानको संकेत भन्ने बुझेका छन् भने अरुले कतैबाट जबर्जस्ती भित्र्याइएको साँस्कृतिक बिचलन वा विध्वंश भनेर
व्याख्या गरेका छन् । झुक्याएर शारिरिक तृप्ति लिने र बर्वादीको दलदलमा घँचेडी दिएका पुरुषजातिका कथाले पनि
समाजलाई धमिल्याउँदै गरेका उपमा समेत उत्तिकै सुनिने गरेका छन् ।

हो‚ मलाइपनि यस्ता थुप्रै ‘अफर’ आए । मेरो मन पनि कयौंपटक भड्कीयो । आलिँगनको इच्छाले कुत्कुत्यायो ।
सुखानुभूतिका रोमान्चकताले थरथर कमायो । जोरीपारीका चाल ढालले मन कुँड्यायो । गाउँघरका तन्नेरीहरुका कटाक्षले
मरणासन्न बनायो । म कैयौ पटक झ्यालबाट चिहाइरहने छिमेकी ठीटाको ढोकासम्म पुगेर फर्केकी छु । चराचुरुङ्गि र जनावरको संसारलाई नजिकैबाट निहालेकी छु । कैयौ रात अधकल्चो र‚ अधमरो भएकी छु । आफूलाई चिमोटेकी
छु‚ निमोठेकी छु । उर्लिदो भावनालाई पैतालामुनि कुल्चिएकी छु । सल्किएको कामाग्नीलाई लज्जाको शीतले
निभाएकी छु । उछालिएको बैंशलाई सांस्कारिक खोलले बेरेर लुकाएकी छु । फुत्किंर्दै गरेको भविष्यलाई भाकलमा
अल्मल्याएकी छु । विद्रोह गर्न थर्थराएका अधरहरु दाँतले टोकेर सम्हालेकी छु । भट्किदै गरेको मनलाई नैतिक
बन्धनले कसिलो बनाएकी छु । अतृप्त बासनासँग कयौंपटक छछल्किएकी छु । तिमीलाई धिक्कारेकी छु र अन्तमा
आफैंलाई रित्याएकी छु । साँच्चै भनौ? परदेशबाट तिमीले मलाई सामान पठाइदिँदा घर आइपुगेको तिम्रै साथीको
आसक्तिपनाले भड्काउन खोजेको बेला समेत म सम्हालिएकी छु ।

मलाई माफ गर प्रिय‚
म अझ बढी समयसम्म पानी बिनाको माछा हुन सकिन । आधा अङ्ग बेगरको अर्धाङ्गिनि। सत्यवान बिनाको सावित्री‚
र कामदेव बिनाको रती । यसो नहुनुमा मलाई मेरै यौवनले छेकिदिएको छ । अझ बढी उद्वेगहरुलाई दबाएर‚ उमेर र
बैंस खेर फालेर बस्न सकिन । नढाटी भनुँ ? — अब त म मेरै अतृप्त आत्माको श्राप भोग्न तयार छैन । र‚ म त्यो
दिन – यो समाज‚ आफन्त घरपरिवार‚ नातागोता‚ जोरीपारी र तिम्रो धमिलो मायालाइ समेत ख्याल नगरी घुम्टो फालेर
ठम्‌ठम् हिड्छु । अनिदो निन्द्रा पूरा गर्छु । अमिलो मनलाई शान्त बनाउँछु र धमिलो रहरलाई सङ्ल्याउँछु । अनि आशा
र विश्वासको बीचमा अर्को पुरुषसँगको आलिंगनको दृढ संकल्पमा अब केही समय बिताउँछु । अनि तिमीलाई जीवनभर
पर्खेर बस्नुपर्ने बाध्यता मेरो नियतिको संविधानमै लेखिएको रहेछ भनेपनि त्यो संविधान च्यातिदिन्छु । धुजा—धुजा
बनाइदिन्छु र मेरो यौवनको नशाबाट चुहिएको छालसँगै बगाइदिन्छु । रागसँगै जलाइदिन्छु‚ र खागलाई पनि सेलाइदिन्छु
। सुन्दर वा सम्पत्तिवान नहोला तर मलाई माया गर्ने‚ मेरो भावना बुझ्ने र अभावमा पनि मसँगै रम्ााउन सक्ने कुनैपनि
‘छोरो मान्छे’ अबको मेरो लोग्ने हुनेछ ।

अन्त्यमा‚ मलाई निष्ठुर वा कठोर हृदयकी नठान ल? कोमल स्त्रीमन भएकोले नै तिम्रो लागि यो अन्तिम प्रेम पत्र लेखेकी
हुँ । हेरन फुस्रिएको मायामापनि पूनर्मिलनका तृण बाँकी नै हुन्छन् कि क्याहो? लेखन टुङ्गयाउनै लाग्दा समेत झिनों तृष्णा
जागेछ । तर मलाई विश्वास छ‚ तिम्रो प्रवास बस्ने रहर अझै पूरा भएको छैन । तिमी अरु केही बर्ष प्रवासमा बिताएर
मात्र घर फर्किन्छौ । हुन्छ‚ तिम्रो इच्छा पूरा गर । तिमीलाई कन्तुरको ताला खोज्न कष्ट नहोस् भनेर चाबी समेत हामीले
बिहेमा खिचेका दूवोको माला लगाएको हँसिलो फोटो पछाडिको फ्रेममा झुन्ड्याएर छोडी दिएकी छु । कथंकदाचित्
खीया परेको रहेछ भने मेरा पर्खाइका आँशुले रुझेको रुमाल सिरानी मुनि छ । तिमीले ल्याएको अत्तरले फेरि भिजाउनु
। सफा गर्नु र साँचो छिराएर ताल्चा खोल्नु है‚ .... ।


उही तिम्रै अन्यत्री
फूलमाया
बाडुली खर्क‚ नेपाल
[email protected]

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow