३० असोज । नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको जनाएको छ। राष्ट्र बैंकका अनुसार रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ। साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।