नेपाली कामदारहरु वैदेशिक रोजगारीमा जाने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ । निम्न विषयहरुमा विशेष ध्यान पुर्‍याई यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र वैदेशिक रोजगारमा जानु नै उपुक्त हुने गर्दछ /

  • व्यक्तिगत र संस्थागत गरि २ किसिमले वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्‍त गर्न सकिन्छ । संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन ? तथा खारेजीमा परेको छ छैन ? बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्‍त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नेछ ।
  • वैदेशिक रोजगारमा जांदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्‍ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिने गर्नु पर्छ ।
  • वैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्‍ठ जानकारी राख्‍नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्‍त छैन । यी कसैलाई पनि रकम नदिनुहोस ठगिने वढी सम्भावना हुन्छ ।
  • आफ्नो नाममा भिषा प्राप्‍त भई वैदेशिक रोजगारमा जाने निश्‍चित भएपछि मेनपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।
  • इजाजत प्राप्‍त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।
  • जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्‍नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्‍नुहोस् ।
  • आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन इमेल आदि सम्झनुहोला
  • सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस् ।

-सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।

  • विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखिकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोस् । सो अभिमुखिकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्‍त हुनेछ ।
  • वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्‍त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्‍ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।
  • कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्‍त नहुदै हवाई टिकट खरीद नगर्नु होला । अन्य देशको विभिन्‍न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस ।
  • लुकीछिपी जाँदा कानूनी कार्वाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्‍त हुने सेवा सुविधा प्राप्‍त नहुने हुँदा विशेष होस पुर्‍याउनुहोस् ।

-पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुन: जाँदा अनिवार्यरुपले पुन: श्रम स्वीकृति (नविकरण) लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्‍नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नविकरण गर्नुहोस् ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *