सुनचाँदी कालिगढमाथि भएको धरपकडप्रति महासंघले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २८ साउन । पोखराको विभिन्न स्थानमा भएको सुनचाँदी गरगहना निर्माण गर्ने कालिगढ पेशासँग सम्बन्धित ११ जनालाई सुनचाँदीको अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव निर बहादुर विकले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
यसरी श्रमजीवी कालिगढमाथि राज्यबाट एक्कासि धरपकड हुनु दु:खद हुनुका साथै सिङ्गो सुनचाँदी क्षेत्र नै तरङ्गित बनेको हुनाले सम्बन्धित पक्षहरूसँग वास्तविकता बुझी, दोषी देखिएमा कानुनी प्रक्रिया अगाडि बढाउन र अनुसन्धान निष्कर्ष ननिस्कँदै मजदुरहरूलाई अनावश्यक दुःख दिने, डर त्रास देखाउने कार्य तत्काल रोक्न आग्रह गर्दै महासङ्घका तर्फबाट गृहमन्त्री रमेश लेखक समक्ष मङ्गलबार ज्ञापनपत्र बुझाएका हुन् ।
त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामुले सुनचाँदी अवैध कारोबारमा संलग्न रहेको भनी सत्य, तथ्य नबुझी, हचुवाको भरमा व्यवसायी तथा कालिगढहरूलाई अनावश्यक दुःख दिने कार्य तुरुन्त रोक्न गृहमन्त्रीसमक्ष माग गरे ।
गृहमन्त्री लेखकले घटनाको बारेमा सही तथ्य कुरा बुझी उचित न्यायको लागि यथाशीघ्र चाँडो पहल गरिने बताए ।
What's Your Reaction?






