एमालेभित्र सत्ता र गुटको हैन, उद्यमशीलताको बहस गरौँ |

 0  27
एमालेभित्र सत्ता र गुटको हैन, उद्यमशीलताको बहस गरौँ |

आजको समय प्रविधि र प्रतिस्पर्धाको युग हो । विश्वव्यापीकरण, डिजिटल प्रविधि र उच्च जीवनस्तरको चाहनाले आजका युवालाई नयाँ सपना देख्न सिकाएको छ । उनीहरू राम्रो करिअर, विदेशी अध्ययन, सूचना प्रविधिमा दक्षता र आधुनिक जीवनशैलीको पछि दौडिरहेका छन् । आज भोलिको देशको भविष्य युवा पुस्ता समग्र देशको सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक शैक्षिकजस्ता महत्वपूर्ण कुरामा रुचि र ध्यान कमी हुँदै गएको छ ।

आज युवा प्लस टु सकिनासाथ कुन देश जाने ? कहाँ छिटो पीआर प्राप्त गर्न सकिन्छ ? भन्ने रुचि र चासो लिएर दौडिएको देखिन्छ । बाध्यतामा मात्र हैन डाक्टर, इञ्जिनियर, शिक्षकजस्ता सम्मानित पेशा र उद्यमी-व्यवसायी पनि यो संस्कृतिबाट अछुत रहेको देखिन्न । तर, यो दौडमा हामीले एउटा अमूल्य सम्पदा बिर्संदै गएका छौं । त्यो हो, माटो, अर्थात् हाम्रो पहिचान, संस्कृति, कृषि र भूमि ।

आजका नेपाली युवा आधुनिक शिक्षाले प्रशिक्षित छन् । सूचना प्रविधि, विदेश यात्रा, करिअर निर्माण, स्टार्टअप र शहरी जीवनशैलीप्रति आकर्षित छन् । उनीहरूमा क्रान्तिकारी सोचको सट्टा व्यक्तिगत प्रगतिको मोह देखिन्छ । यसमा दोष युवामा मात्र होइन, व्यवस्थामा पनि छ । गाउँमा अवसर छैन, कृषि अलाभकारी छ, सीपको प्रयोग गर्ने ठाउँ छैन, त्यसैले युवा पलायन भइरहेको छन् ।

नेपालको वर्तमान सामाजिक र राजनीतिक परिवेशले एउटा गम्भीर प्रश्न उठाइरहेको छ, देशका युवा प्रविधि र करिअरको पछि दौडिँदै गर्दा आफ्नो संस्कृति, कृषि र माटोप्रतिको संवेदनशीलता बिर्संदै छन् । यस्तो अवस्थामा, देशको प्रमुख राजनीतिक शक्ति, खासगरी नेकपा (एमाले) को बहस कुन दिशातिर मोडिँदैछ ? माटोसँग गाँसिएको जनजीवनबाट विमुख भइरहेका युवालाई समेट्न एमालेको दृष्टिकोण स्पष्ट छ त ? वा, पार्टी अझै पनि सैद्धान्तिक बहसको जालमै अल्झिरहेको छ ?

माटो बिर्संदै जाने प्रवृत्तिः एक चिन्ताजनक अवस्था

‘माटो’ केबल भौगोलिक धरातलमात्र होइन, यो हाम्रो अस्तित्व, इतिहास, जीविकोपार्जनको आधार र संस्कारको प्रतीक हो । आजका धेरै युवा कृषि, स्थानीय सीप, ग्रामीण जीवनशैली तथा प्राकृतिक संसाधनप्रति उदासीन बन्दै गएका छन् । उनीहरूलाई आधुनिक शहरको चमकधमक आकर्षक लाग्छ, तर गाउँका खेत, खोला, बारी र चुल्होको माया कम हुँदै गएको देखिन्छ ।

कुनै समयमा खेती गर्नु गर्वको विषय थियो । तर, आज गाउँ फर्कने कुरा लाज मान्ने अवस्था आएको छ । प्रविधिले मानिसलाई सहजीकरण दिएको छ, तर त्यो सहजीकरणसँगै परनिर्भरता, भूमिबाट विच्छेदन र आत्मनिर्भरता गुमाउने खतरा बढ्दै गएको छ ।

१. किन आजको बहसले मात्र समाधान दिन सक्दैन ?

आजको एमालेको बहस अझै पनि सत्ता र गुटगत प्रतिस्पर्धा वरिपरि घुमिरहेको देखिन्छ । तर, देशको माटो, कृषि, स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्रजस्ता विषय गम्भीर बहसका केन्द्र बन्नु अत्यन्त जरुरी छ । युवालाई देशमै अवसर दिन, माटोसँगको सम्बन्ध पुनः जोड्न, प्रविधि र करिअरसँगै संस्कार र पहिचान जोगाइराख्न सक्ने वैकल्पिक सोच आजको आवश्यकता हो ।

यदि एमालेले यो यथार्थ चिन्न सकेन भने, भविष्यमा यो पार्टी पनि माटोभन्दा टाढा गएकाको सूचीमा मात्र सीमित हुनेछ ।

विगतका वर्षमा ‘गाउँ फर्कौं, अर्गानिक कृषि गरौँ’, ‘माटोको माया राखौं’ जस्ता अनेक बहस, सेमिनार र गोष्ठी हुँदै आएका छन् । तर, ती अधिकांश औपचारिकतामात्र बने । बहसको भाषा गम्भीर छ, तर व्यवहारमा कार्यान्वयन कम छ ।

युवालाई कृषि, ग्रामीण विकास वा स्थानीय व्यवसायमा आकर्षित गर्ने कार्यक्रमको अभाव छ । नीति निर्माण तहमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिए पनि व्यावहारिक कार्यान्वयन कमजोर छ । त्यसमाथि, शिक्षाले पनि माटोको महत्व भन्दा बढी प्रविधिको प्रतिस्पर्धा सिकाइरहेको छ ।

२. एमालेको बहस कता हराउँदैछ ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले किसान, श्रमिक, ग्रामीण जनजीवनका मुद्दा उठाउँदै देशभर संगठन विस्तार गरेको छ । पार्टीको राजनीतिक आधारभूमि नै माटो-किसान-श्रमिक छ । तर, आजको बहसले त्यो आधार गुमाउँदै गएकोजस्तो देखिन्छ ।

एमालेभित्र पनि नेताहरूको ध्यान शहरी योजना, सडक, ठूला पूर्वाधारमा बढी केन्द्रित देखिन्छ । ग्रामीण स्वरोजगार, सहकारी आन्दोलन, भूमि सुधारजस्ता विषय गौण बन्दै गएका छन् ।

आज विकासको बहस भूमिको सन्तुलन बिगार्ने गरी भइरहेका छ । त्यसविरुद्ध एमालेको स्पष्ट वैकल्पिक दृष्टिकोण दिन जरुरी छ, बहस जरुरी छ ।

पार्टीको पछिल्ला दस्तावेजमा कृषि, खाद्य सुरक्षालगायत विषय उल्लेख भए पनि ती व्यवहारमै अनुवाद हुन सकेका छैनन् । प्रविधिको उपयोगबाट कृषि आधुनिकीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई पार्टीले गहिरो गरी अघि सार्न र कार्यान्वयन गर्न सकेको छैन ।

प्रविधिमैत्री युवा नीति निर्माण तथा उनीहरूलाई देशमै बस्न उत्प्रेरित गर्ने रणनीति निर्माण गर्नेमै एमाले कमजोर देखिन्छ । बहसको विषय शिक्षाको गुणस्तर, रोजगारी सिर्जना, कृषि उद्यमशीलता हुनुपर्नेमा शक्ति सन्तुलन र गुटगत प्रतिस्पर्धामा सीमित देखिएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद (जबज) को नाममा ‘स्थिरता र समृद्धि’ को नारा लगाउँछ । तर, त्यही नारा व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने खाका अस्पष्ट देखिन्छ । सैद्धान्तिक बहस र कागजी दस्तावेज पर्याप्त छन्, तर व्यवहारिक कार्यान्वयनको स्तरमा त्यो बहसको प्रभाव देखिँदैन ।

युवालाई करिअर र प्रविधिबाट माटोसम्म फर्काउने हो भने, पार्टीले नेतृत्वकेन्द्रित बहस भन्दा सिद्धान्त विचारलाई व्यवहारमै आधारित, रोजगार सिर्जनामूलक, ग्रामीण आर्थिक क्रान्तिका कार्यक्रम अघि सार्नुपर्छ । नत्र, ‘समृद्ध नेपाल’ को सपना केवल नारामा सीमित हुन्छ ।

४. कता जानुपर्छ एमालेको बहस ?

यदि एमालेले नयाँ पुस्ता र देशको वास्तविक माटोप्रेमी जनशक्तिलाई गम्भीरताका साथ सम्बोधन गर्न चाहन्छ भने कृषि-प्रविधिको संयोजन, युवालाई स्मार्ट एग्रिकल्चर, एग्रो (स्टार्टअप, ड्रोन प्रविधिको प्रयोग, जैविक खेती) मार्फत् आकर्षित गर्न नीतिगत बहस र लगानीको खाका तयार पार्नुपर्छ ।

स्थानीय स्रोत-साधनमा आधारित विकास, बहसलाई केन्द्रीकरणबाट विकेन्द्रीकरणतर्फ मोड्नुपर्छ । गाउँकेन्द्रित रोजगारी र स्वरोजगारका कार्यक्रम ल्याउनुपर्छ । युवालक्षित राजनीतिक प्रशिक्षण, पार्टीको युवा संगठनलाई केवल नारावाजी होइन, अनुसन्धान, उद्यमशीलता र नवप्रवर्तन (इनोभेसन) मा सक्षम बनाउनुपर्ने बेला आएको छ ।

शिक्षा र सीपको समन्वय, प्रविधिको सही उपयोग गर्दै देशमै अवसर सिर्जना गर्ने दीर्घकालीन शिक्षा नीति बहसको एजेण्डा बन्नुपर्छ ।

देशका युवालाई देश, जनता हाम्रो सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक ऐतिहासिक पुनःजागरणको अभियान सञ्चालन गर्दै सोसियल इञ्जिनियरिङको बहस र अभियान सञ्चालन गर्न आवश्यक छ ।

समाधान के हुनसक्छ ?

केबल बहस गरेर समाधान हुँदैन । व्यवहारमा परिवर्तन आवश्यक छ । केही सम्भावित समाधानहरू यस्ता छन्,

१. शिक्षा प्रणालीमा सुधार

आज विश्व चौथो औधोगिक क्रान्तिको युगमा छ । ‘बिग डाटा’, अर्थात् एआईसँग खेलिरहेको अवस्थामा हामीले आधुनिक कृषि युगलाई पनि आत्मासात गर्न सकेको अवस्था छै । हालकै शिक्षा प्रणालीलाई आजको युवालाई आजको शिक्षा प्रणालीले आजको युगसँग प्रतिस्पर्धा गर्नसक्ने सवल युवा निर्माण गर्न सक्दैन । एकातिर व्यावसायिक शिक्षा प्रणाली छैन अर्कातर्फ हाम्रो संस्कार, संस्कृति र इतिहास बिर्संदै गएको अवस्था छ । प्रारम्भिकस्तरबाटै बालबालिकामा कृषि, प्रकृति, स्थानीय सीप, इतिहास र संस्कृतिप्रति प्रेम विकास गर्ने पाठ्यक्रम ल्याइनुपर्छ ।

२. आकर्षक कृषि उद्यम कार्यक्रम

युवालाई लक्षित गरी एग्री (स्टार्टअप), सहुलियत ऋण, प्रविधियुक्त कृषि तालिम र अनुदानका माध्यमबाट कृषि व्यवसायमा आकर्षित गर्नुपर्छ ।

३. गाउँमै रोजगारी सिर्जना

वैदेशिक रोजगारीको विकल्पका रूपमा स्थानीयस्तरमा सीपमूलक उद्यमलाई प्रोत्साहन दिनुपर्छ ।

४. माटोसँग सम्बन्धित जीवनशैली विकास

माटो, संस्कृति, पर्व र पर्यावरणसँग सम्बन्धित जनचेतनामूलक अभियान चलाउनुपर्छ । सामाजिक सञ्जालमा पनि यस्ता अभियानलाई प्राथमिकता दिन सकिन्छ ।
छ ।

नीतिगत प्रतिवद्धता र अनुश्रवण

सरकार र स्थानीय तहले बनाएका नीति कागजमै सीमित नहोस्, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नागरिक समाज, युवा संघसंस्था र सञ्चारमाध्यमको भूमिकालाई सशक्त बनाउनुपर्छ ।

५. युवालक्षित कार्यक्रम र नीति

आज देशमा युवामा आएको नैराश्यता र देश र माटोप्रतिको मोह र रुचीमा आएको कमीलाई उर्जामा बदल्ने अभिभारा र भूमिका एउटा ठूलो र राष्ट्रवादी पार्टीको हैसियतले एमालेको रहन्छ, त्यसैले राजनीतिक, आर्थिक, व्यावसायिक क्षेत्रमा युवालक्षित नीति र कार्यक्रम ल्याउँदै ‘समृद नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न आवश्यक छ ।

निष्कर्ष

एमालेजस्तो ठूलो र पुरानो राजनीतिक दलले केवल गुटगत प्रतिस्पर्धा र नेतृत्वको उत्थान–पतनमा सीमित बहस गर्दै जानु न त पार्टीको दीर्घकालीन हितमा पर्छ, न जनताको समृद्धि आकांक्षासँग मेल खान्छ । आजको नेपालको सामाजिक-आर्थिक यथार्थ हेर्दा दुई मुख्य चुनौती देखिन्छन् । एकातिर, युवा देशभित्रै अवसर नपाएर पलायन भइरहेका छन्, अर्कोतिर कृषि भूमि बाँझिँदै गएको छ, माटो र ग्रामीण अर्थतन्त्र उपेक्षित हुँदै गइरहेको छ ।

यी दुबै समस्या समाधान गर्न, एमालेले नेतृत्वकेन्द्रित बहसलाई पन्छाएर युवालक्षित नीति निर्माण र माटो (कृषि, स्थानीय उत्पादन, आत्मनिर्भरता) केन्द्रित बहसलाई प्राथमिकता दिन आवश्यक छ । पार्टीले युवालाई केवल शक्ति प्रदर्शनको साधन होइन, नीतिगत रूपान्तरणका साझेदार बनाउनुपर्छ । त्यस्तै, माटोसँगको सम्बन्ध पुन:स्थापना नगरी आत्मनिर्भर नेपालको सपना अपूरो रहन्छ ।

त्यसैले, एमालेले आफूभित्रको गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर, युवाको भविष्य र माटोको सम्भावनामा केन्द्रित संवादमार्फत आफ्नो विचार र भूमिकालाई पुनः परिभाषित गर्नु अहिलेको समयको माग हो । यस्तो बहसबाट मात्र पार्टीको पुनर्जागरण सम्भव छ र जनताबीच नयाँ विश्वास कायम गर्न सकिन्छ ।

( लेखक रिटर्नी फेडेरेशनका उपाध्यक्ष हुन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow