को बन्ला कला व्यवसायी संघको भावी अध्यक्ष ? महासचिवको दौडमा को अगाडि ?
What's Your Reaction?
Join our subscribers list to get the latest news, updates and special offers directly in your inbox
२२ जेठ, काठमाडौं । आगामी शनिबार हुने नेपाल सुनचाँदी कला व्यवसायी संघको साधारण सभा तथा १०औँ केन्द्रीय अधिवेशनमा अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
संघका वर्तमान प्रथम उपाध्यक्ष विष्णु भक्त बराइलीले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। बराइलीले संस्थाको स्थापना कालदेखि नै संघको हकहित र नेतृत्व तहमा सक्रिय रहँदै आएको भन्दै अब संघलाई नेतृत्व दिन आफू स्वाभाविक दाबेदार रहेको बताएका छन्।
यसअघि संघका वर्तमान महासचिव बालकुमार विश्वकर्मा ‘सुमन’ले पनि अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छन्। “सशक्त नेतृत्व, समृद्ध व्यवसाय” भन्ने नारासहित चुनावी अभियान अघि बढाएका विश्वकर्माले संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बराइली संघको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका व्यक्ति हुन्। प्राप्त जानकारीअनुसार यसअघि पनि उनी अध्यक्षका दाबेदार मानिए पनि सहमतिको आधारमा पूर्व अध्यक्षहरूको रोहबरमा वर्तमान अध्यक्ष घनश्याम रिजाललाई नेतृत्व दिइएको थियो। त्यसबेला बराइलीले सहमतिको निर्णय स्वीकार गरेका थिए।
अर्कोतर्फ, बालकुमार विश्वकर्मा ‘सुमन’ हाल संघमा महासचिवका रूपमा कार्यरत छन्। उनी सदस्यहरूबीच लोकप्रिय रहेको र संगठन विस्तारमा सक्रिय भूमिका खेलेको व्यवसायीहरूको भनाइ छ। सबै पक्षसँग समन्वय गर्न सक्ने खुबी उनमा रहेको बताइन्छ।
त्यसैगरी, महासचिव पदमा पनि प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन तालिकाअनुसार २१ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकोमा महासचिव पदका ६ जना उम्मेदवारमध्ये ३ जनाले यसअघि नै उम्मेदवारी फिर्ता लिइसकेका छन्।
नेपाल कालिगढ संघका अध्यक्षसमेत रहेका महासचिव पदका उम्मेदवार अर्जुन विश्वकर्माले सूर्य बराललाई समर्थन गर्दै आफ्नो नाम फिर्ता लिएको बुझिएको छ। यससँगै महासचिव पदमा सूर्य बराल र प्रेम लकन्द्रीबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ।
प्रेम लकन्द्री वर्तमान कार्यसमितिका सचिव तथा पूर्वी इलाकाका इन्चार्जसमेत हुन्। त्यस्तै, सूर्य बराल वर्तमान कार्यसमितिका सदस्य तथा महासंघको केन्द्रीय कार्यसमितिका सदस्यसमेत हुन्। उनी महासंघको नीति तथा योजना तहमा जिम्मेवारी बहन गर्दै आएका व्यक्ति हुन्। बराललाई स्पष्ट र प्रखर वक्ताका रूपमा समेत चिनिन्छ।
करिब ६८५ मतदाता रहेको यस निर्वाचनमा उपत्यकाभित्र करिब ३०० र उपत्यकाबाहिर करिब ४०० मतदाता रहेको बताइएको छ। सामान्य रूपमा हेर्दा उपत्यकाभित्रका मतदातामाझ अध्यक्षमा विष्णु भक्त बराइली र महासचिवमा सूर्य बरालको पकड बलियो रहेको अनुमान गरिएको छ।
उपत्यकाबाहिरको मत आफ्नो पक्षमा ल्याउन बालकुमार विश्वकर्मा ‘सुमन’ले पूर्वी क्षेत्रको कार्यथलो भएका प्रेम लकन्द्रीलाई महासचिवमा समेट्ने प्रयास गरेको चर्चा छ।
व्यवसायी सदस्यहरूबीच चलेको चर्चाअनुसार वर्तमान अध्यक्ष घनश्याम रिजाल अध्यक्षमा बालकुमार विश्वकर्मा ‘सुमन’ र महासचिवमा प्रेम लकन्द्रीलाई अघि बढाउने सोचमा रहेको बताइन्छ। अर्कोतर्फ, महासंघका केही पदाधिकारी तथा संघका पूर्व नेतृत्व तहका व्यक्तिहरूको भित्री समर्थन विष्णु भक्त बराइली र महासचिवमा सूर्य बरालतर्फ रहेको व्यवसायीहरूबीच चर्चा छ।
आगामी महासंघको नेतृत्वलाई समेत हेरेर यस निर्वाचनको समीकरणमा प्रभाव पर्ने विश्लेषकहरू बताउँछन्। मुख्य रूपमा व्यवसायी मतदाताको उपस्थिति कति हुन्छ भन्ने विषयले पनि निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
अध्यक्ष पदमा बराइली र विश्वकर्मा तथा महासचिव पदमा बराल र लकन्द्रीबीच हुने प्रतिस्पर्धाले यसपटक संघको अधिवेशनलाई थप चासोका साथ हेरिएको छ।
Total Vote: 4
राष्ट्रीय स्वतन्त्र पार्टी
Total Vote: 6
हटाउँछ
Total Vote: 7
देशमा रोजगारी नभएर

