महासंघको नेतृत्व : पदको राजनीति कि व्यवसायको भविष्य?
हेम राई
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आगामी अधिवेशन हुन अझै करिब आठ महिना बाँकी छ। अर्थात्, वर्तमान कार्यसमितिको कार्यकाल अझै पूरा हुन बाँकी छ र कुनै विशेष परिस्थिति सिर्जना नभएसम्म त्यसपछि मात्रै महासंघले नयाँ नेतृत्व चयन गर्नेछ।
तर, अधिवेशन आउन अझै लामो समय बाँकी हुँदाहुँदै अहिलेदेखि नै बजारमा कुन पदमा कसको उम्मेदवारी रहने, कसले कुन पद पाउने, कुन समूहसँग कसको सहकार्य हुने भन्ने चर्चा व्यापक रूपमा सुरु भइसकेको छ। महासंघभित्र रहेका विभिन्न संघ–संस्थाहरूमा समेत पद बाँडफाँड, जोडघटाउ र समूह निर्माणको राजनीति तीव्र बन्दै गएको देखिन्छ।
लोकतान्त्रिक संस्थामा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक र आवश्यक प्रक्रिया हो। तर प्रतिस्पर्धाको केन्द्रबिन्दु नीति, योजना, दृष्टिकोण र कार्यसम्पादन हुनुपर्ने हो। दुर्भाग्यवश, अहिले देखिएको गतिविधिले भने मुख्य रूपमा टिम बनाउने, पदको भागबण्डा मिलाउने र शक्ति सन्तुलन गर्ने अभ्यासलाई प्राथमिकता दिएको आभास हुन्छ। यसले वास्तविक एजेन्डा ओझेलमा पर्ने खतरा बढाएको छ।
सुनचाँदी व्यवसाय अहिले अनेक चुनौतीको सामना गरिरहेको छ। हिजो १० प्रतिशत भन्सार महसुल र २ प्रतिशत विलासिता कर लागू हुँदा सम्पूर्ण सुनचाँदी व्यवसायी करिब ४५ दिनसम्म सडक आन्दोलनमा उत्रिएका थिए। तर वर्तमान सरकारले ती कर तथा शुल्कको संरचनामा फेरबदल गर्दै समग्र करको भार करिब २१ प्रतिशत हाराहारीमा पुर्याउँदा पनि यस क्षेत्रसँग सम्बन्धित अधिकांश निकाय किन मौन छन्?
वर्षौंदेखि सुनचाँदी क्षेत्रसँग सम्बन्धित आचारसंहिता, नीति तथा नियमहरू किन कार्यान्वयन हुन सकेका छैनन्? नेपाल सरकारले महासंघमार्फत वितरण गर्ने सुनको कोटामा समानता किन कायम हुन सकेको छैन? कोटा वितरणको प्रक्रिया, मापदण्ड तथा विवरण व्यवसायीहरूलाई पारदर्शी रूपमा किन सार्वजनिक गरिँदैन? महासंघले यी विषयमा स्पष्ट र आधिकारिक जानकारी दिन किन सकिरहेको छैन? यी सबै विषय गोप्य राखिनुको वास्तविक कारण के हो?
यी प्रश्नहरूको जवाफ आगामी अधिवेशनमा सहभागी हुने सम्पूर्ण संघ–संस्था, प्रतिनिधि तथा व्यवसायीहरूले खोज्नैपर्छ। साथै, वर्तमान कार्यसमितिमा प्रतिनिधित्व गरिरहेका पदाधिकारीहरूले पनि यी विषयमा स्पष्ट, तथ्यगत र सार्वजनिक जवाफ दिनुपर्ने समय आएको छ।
बदलिँदो कर प्रणाली, व्यवसायमैत्री नीति निर्माण, अवैध कारोबार नियन्त्रण, कालीगढको अभाव, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा, निर्यात प्रवर्द्धन, सीप विकास तथा व्यवसायीहरूको अधिकार संरक्षणजस्ता विषयमा महासंघले आगामी वर्षहरूमा कस्तो नेतृत्व दिने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हो। यस्ता विषयमा व्यापक छलफल हुनु नितान्त आवश्यक छ।
यही सन्दर्भमा आगामी अधिवेशनमा आफूलाई पदाधिकारीको उम्मेदवार घोषणा गर्दै हिँड्ने सबैलाई हामीले निम्न प्रश्नहरू अवश्य सोध्नुपर्ने बेला आएको छ।
हाल पदाधिकारीको जिम्मेवारीमा रहँदा सम्बन्धित व्यक्तिहरूले सुनचाँदी क्षेत्रको हितमा के–के उल्लेखनीय काम गर्नुभयो?
व्यवसायीहरूले तपाईंलाई पुनः नेतृत्वमा किन विश्वास गर्ने?
आगामी कार्यकालका लागि तपाईंको स्पष्ट नीति, योजना, लक्ष्य र कार्यदिशा के छ?
महासंघलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री बनाउन तपाईंले के नयाँ पहल गर्नुहुनेछ?
यी प्रश्नहरूको स्पष्ट उत्तर दिन सक्ने व्यक्ति नै नेतृत्वका लागि योग्य उम्मेदवार बन्न सक्छ। केवल समूहको समर्थन, पदको भागबण्डा वा व्यक्तिगत सम्बन्धका आधारमा नेतृत्व चयन हुनु महासंघ र समग्र व्यवसाय दुवैका लागि हितकर हुँदैन।
अबको अधिवेशन व्यक्तिको प्रतिस्पर्धा होइन, विचारको प्रतिस्पर्धा बन्नुपर्छ। पद प्राप्त गर्ने होड होइन, जिम्मेवारी बहन गर्ने प्रतिबद्धताको परीक्षा बन्नुपर्छ। व्यवसायीहरूले पनि कुनै व्यक्ति वा गुट होइन, उम्मेदवारको विगतको कार्यसम्पादन, वर्तमान क्षमता र भविष्यको स्पष्ट योजनालाई मूल्याङ्कन गर्ने संस्कार विकास गर्न आवश्यक छ।
यदि हामीले यस विषयमा समयमै गम्भीर ध्यान दिएनौँ र फेरि पनि सामान्य आश्वासन वा व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गर्यौँ भने हाम्रो अवस्था र समग्र सुनचाँदी व्यवसायीहरूको भविष्य फेरि पनि उहीँ रहनेछ। निर्णय गर्ने अधिकार तपाईंहरूको हातमा आउँदैछ। अवसर आउँदा चुक्ने अनि त्यसपछि फेरि तीन वर्ष गुनासो मात्र गर्ने प्रवृत्ति अब त्याग्नैपर्छ।
महासंघ कुनै व्यक्तिको सम्पत्ति होइन; यो सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको साझा संस्था हो। त्यसैले आगामी नेतृत्व चयन गर्दा पदभन्दा नीति, नाराभन्दा कार्ययोजना र समूहभन्दा संस्थाको हितलाई प्राथमिकता दिने संस्कार स्थापित गर्न सकियो भने मात्र महासंघ अझ सशक्त, प्रभावकारी र व्यवसायीहरूको विश्वास जित्ने संस्थाका रूपमा अघि बढ्न सक्छ।
What's Your Reaction?





