सरकारले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने
काठमाडौं, ९ मंसिर । राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा दक्ष जनशक्ति, उपकरण, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताएकी हुन् ।
प्रादेशिक ट्रमा सेन्टर स्थापनाले सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनले बताईन्। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबिचको सहकार्यलाई थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मेहताले बताइन्।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै निष्कर्षमा पुर्याइने बताइन्।
What's Your Reaction?





