वर्तमान आर्थिक संकटमा सुनचाँदी व्यवसाय : चुनौती, अवसर र सुधारका लागि १८ सुझाव
– सूर्य बराल
देशमा देखिएको आर्थिक मन्दी, करको अत्यधिक वृद्धि, स्पष्ट नीति तथा निर्देशिकाको अभाव, बजारमा तरलताको कमी र उपभोक्ताको खरिद क्षमता घट्दै जानुले नेपालका सुनचाँदी व्यवसायीहरू अभूतपूर्व संकटबाट गुज्रिरहेका छन्। अहिलेको अवस्थामा आर्थिक गतिविधि प्रायः ठप्प छ, बजारमा कारोबार न्यून छ, र यो अवस्था अझै कति समयसम्म लम्बिने हो भन्ने निश्चित छैन।
यस संकटले समग्र अर्थतन्त्रलाई गम्भीर असर पुर्याएको छ भने सुनचाँदी क्षेत्र पनि त्यसबाट अछुतो रहन सकेको छैन। मासिक रूपमा अर्बौं रुपैयाँ बराबरको कारोबार प्रभावित भइरहेको छ, हजारौं व्यक्तिको रोजगारी संकटमा परेको छ, र राज्यले पनि मासिक करोडौं रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको अवस्था छ।
अहिले नेपालका सुनचाँदी उद्योग तथा व्यवसायमा करिब ७५ प्रतिशत अर्थात् झण्डै १ लाख ५० हजार भारतीय कालिगढ कार्यरत रहेको अनुमान छ। यो तथ्याङ्कले नेपाली नागरिकलाई आवश्यक सीप, तालिम र प्रविधि उपलब्ध गराउन सके स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना हुने, आयआर्जन बढ्ने तथा विदेशी श्रमिकमाथिको निर्भरता घट्ने स्पष्ट देखाउँछ। यसले नेपाली अर्थतन्त्रलाई समेत सकारात्मक दिशा दिन सक्छ।
यस परिस्थितिमा व्यवसाय, श्रमिक, सम्बन्धित संघसंस्था तथा राज्यले समन्वय गरेर निम्न विषयमा तत्काल ध्यान दिन आवश्यक देखिन्छ।
सुधारका लागि १८ सुझाव
१. व्यवसाय र कालिगढको एकीकृत अभिलेख तयार गर्ने
देशभर रहेका सुन पसल, उद्योग तथा कालिगढहरूको एकद्वार प्रणालीमार्फत अद्यावधिक विवरण तयार गर्नुपर्छ। यसले नीति निर्माण तथा आपत्कालीन व्यवस्थापनमा सहयोग पुर्याउँछ।
२. कालिगढको सीप प्रमाणीकरण गर्ने
सम्बन्धित व्यवसायिक संघसंस्थाको सिफारिसमा सीप तथा अनुभवको मूल्याङ्कन गरी क, ख, ग श्रेणीमा वर्गीकरण गरेर प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ।
३. नियमित सीप विकास तालिम सञ्चालन गर्ने
कालिगढलाई आधुनिक डिजाइन, प्रविधि र उत्पादन प्रक्रियासम्बन्धी नियमित तालिम उपलब्ध गराउनुपर्छ।
४. उत्पादनमुखी उद्योगलाई सहुलियत दिने
कटिङ, पोलिसिङ, सेटिङ, डाइस निर्माण, रिफाइनरी लगायतका उद्योग स्थापना गर्न चाहने व्यक्ति वा समूहलाई तालिम, उपकरण खरिद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्छ।
५. नयाँ प्रविधि अपनाउने संस्कार विकास गर्ने
कालिगढहरूले पनि समयअनुसार नयाँ प्रविधि सिक्ने र उत्पादनमा प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ।
६. संकटमा श्रमिक संरक्षण गर्ने
व्यवसायमा घाटा भए पनि व्यवसायीहरूले आफ्ना कालिगढ तथा कर्मचारीको न्यूनतम जीविकोपार्जन सुनिश्चित गर्ने प्रयास गर्नुपर्छ।
७. श्रमिकको कानुनी सुरक्षा सुनिश्चित गर्ने
कर्मचारी तथा कालिगढलाई ज्यालादारी, करार, अस्थायी वा स्थायी नियुक्तिपत्र तथा करार सम्झौता अनिवार्य उपलब्ध गराउनुपर्छ।
८. व्यवसायको औपचारिक दर्ता गर्ने
व्यवसायी तथा कालिगढ सबैले सम्बन्धित सरकारी निकायमा व्यवसाय तथा संस्थाको दर्ता अनिवार्य गर्नुपर्छ।
९. पारदर्शी कारोबार प्रणाली अपनाउने
बदलिएको बजार अवस्था, सुनको मूल्य तथा गुणस्तरलाई आधार मानी व्यवसायी र ग्राहकबीच पारदर्शी खरिद–बिक्री प्रणाली विकास गर्नुपर्छ।
१०. सीपको पुस्तान्तरण गर्ने
अनुभवी कालिगढहरूले नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्दै जानुपर्छ ताकि दक्ष जनशक्ति उत्पादन होस्।
११. सुन खरिदका लागि वित्तीय व्यवस्था गर्ने
सुनको मूल्य अत्यधिक बढेकाले ग्राहकले बिक्री गर्न ल्याएको सुन पसलले मात्र खरिद गर्न नसक्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा सम्बन्धित संघसंस्था तथा राज्यले निश्चित ब्याजदरमा विशेष कोष वा वित्तीय व्यवस्था गर्ने पहल गर्नुपर्छ।
१२. मापदण्ड र निर्देशिका तयार गर्ने
महासंघ वा सम्बन्धित संस्थाले ज्याला, जर्ती तथा खरिद–बिक्रीको मापदण्ड तयार गरी राज्यसँग समन्वय गरेर आधिकारिक निर्देशिका लागू गराउनुपर्छ।
१३. संयुक्त लगानीमा उद्योग स्थापना गर्ने
दुई वा सोभन्दा बढी व्यवसायी तथा कालिगढ मिलेर उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्छ। यसबाट लगानी सुरक्षित हुने, उत्पादन लागत घट्ने तथा गुणस्तरीय उत्पादन सम्भव हुन्छ।
१४. स्वस्थ व्यावसायिक वातावरण कायम गर्ने
व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा होइन, व्यवसायिक नैतिकता, उपभोक्ता अधिकार र पारदर्शितालाई आधार बनाएर कारोबार हुनुपर्छ।
१५. उत्पादन निर्यातको व्यवस्था गर्ने
नेपालमा उत्पादन भएका सुनचाँदीका गहना तथा आभूषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने कानुनी व्यवस्था तत्काल गर्नुपर्छ।
१६. कच्चा पदार्थका लागि सहुलियत ऋण उपलब्ध गराउने
उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न सम्बन्धित संस्थाको सिफारिसमा सहुलियतपूर्ण ऋणको व्यवस्था हुनुपर्छ।
१७. अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्ने
गुणस्तर, डिजाइन, शुद्धता तथा प्याकेजिङमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनुपर्छ।
१८. उपभोक्ताको क्रयशक्ति अनुसार उत्पादन गर्ने
वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै सानो तौल, गुणस्तरीय, आकर्षक तथा सर्वसुलभ मूल्यका गहना उत्पादन र बिक्रीमा जोड दिनुपर्छ।
निष्कर्ष
सुनचाँदी व्यवसाय केवल व्यापार मात्र होइन, यो नेपालको संस्कृति, सीप, रोजगारी र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। आजको संकटलाई अवसरमा रूपान्तरण गर्न व्यवसायी, कालिगढ, संघसंस्था र राज्य सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्न आवश्यक छ।
यदि समयमै स्पष्ट नीति, श्रमिक व्यवस्थापन, उद्योग प्रवर्द्धन, सीप विकास, सहुलियतपूर्ण वित्तीय व्यवस्था तथा निर्यातमुखी योजना लागू गर्न सकियो भने सुनचाँदी क्षेत्र पुनः आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छ।
(लेखक - नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय सदस्य हुन् )
What's Your Reaction?





