‘महाघण्टी’ पर्यटकको आकर्षण, ५०० भन्दा बढी घण्टीको संगम

 0  12
‘महाघण्टी’ पर्यटकको आकर्षण, ५०० भन्दा बढी घण्टीको संगम

धनकुटा । धनकुटास्थित प्रसिद्ध निसान मन्दिर परिसरमा रहेको विशाल ‘महाघण्टी’ अहिले धार्मिक पर्यटक तथा आगन्तुकको विशेष आकर्षण बनेको छ। निसान मन्दिर दर्शन गर्न पुग्ने भक्तजनदेखि धनकुटा घुम्न आउने पर्यटकसम्मका लागि यो महाघण्टी तस्बिर खिच्ने लोकप्रिय गन्तव्य बनेको छ।

देख्दा एउटै विशाल घण्टीजस्तो देखिए पनि यो सयौँ साना घण्टीलाई एकै ठाउँमा जोडेर तयार पारिएको हो। यसमा ५०० भन्दा बढी साना घण्टी समेटिएका छन्। यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए।

 मन्दिर परिसरमा वर्षौँदेखि जम्मा हुँदै आएका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि तिनलाई हटाउने तयारी गरिएको थियो।

तर, ती घण्टीमध्ये कतिपय ऐतिहासिक महत्त्व बोकेका पुराना घण्टीसमेत रहेकाले हटाउँदा महत्वपूर्ण सम्पदा नष्ट हुने अवस्था देखिएपछि संरक्षण गर्ने उद्देश्यले नयाँ अवधारणा अघि सारिएको उनले बताए।

“घण्टीहरू हटाउनेभन्दा पनि तिनलाई सुरक्षित राखेर आकर्षक रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचले महाघण्टी निर्माण गरिएको हो,” सचिव घिमिरेले भने।

उनका अनुसार महाघण्टीमा वि.सं. १९३१ सालभन्दा अघिदेखिका पुराना घण्टीसमेत समेटिएका छन्। यसले महाघण्टीलाई धार्मिक आस्थाको प्रतीक मात्र नभई स्थानीय इतिहास र सांस्कृतिक सम्पदाको संरक्षणस्थलका रूपमा समेत स्थापित गरेको छ।

पुराना घण्टीको संरक्षणसँगै नयाँ पुस्तालाई ऐतिहासिक सम्पदासँग जोड्ने माध्यम बनेको महाघण्टी अहिले निसान मन्दिर परिसरको पहिचानका रूपमा विकास हुँदै गएको छ। मन्दिर दर्शन तथा धनकुटा भ्रमणमा आउने पर्यटकहरूका लागि समेत यो नयाँ आकर्षण थपिएको छ।

स्रोत : प्रदेश खबर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow