ललितपुर क्षेत्रका सुनचाँदी व्यवसायीद्वारा बाढीपीडितलाई राहत सामग्री वितरण
२१ भदौ, काठमाडौँ। गत भदौ १० गते आएको बाढीबाट प्रभावित बाढीपीडितहरूका लागि ललितपुर क्षेत्रका सुनचाँदी व्यवसायीहरूले राहत सामग्री वितरण गरेका छन्।
विशेषगरी ललितपुरको ताल्चिखेल क्षेत्रमा रहेका सुनचाँदी व्यवसायीहरूले आफ्नो निजी सवारीसाधनमा राहत सामग्री बोकेर बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्याएका हुन्। राहत सामग्रीमा चाउचाउ, खाद्य सामग्री, आवश्यक किचन सामग्रीलगायतका सामग्री रहेका थिए।
ललितपुरको ताल्चिखेलबाट रसुवामा राहत वितरण गर्ने उद्देश्यले प्रस्थान गरेको व्यवसायीहरूको टोलीले विदुर नगरपालिका–१० का वडाध्यक्षलाई राहत सामग्री हस्तान्तरण गरी राजधानी फर्किएको जनाइएको छ।
राहत वितरण कार्यक्रममा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवा, निवर्तमान अध्यक्ष डम्बर बराइली, उपाध्यक्ष वीरबहादुर विश्वकर्मा, सचिव रणजित लकान्द्री, कोषाध्यक्ष किशोर सेन्चुरी, केन्द्रीय कार्यसमिति सदस्य रमेश घिमिरे, रञ्जित शंकर, निरज शंकर लगायत सुनचाँदी व्यवसायीहरूको उपस्थिति रहेको थियो।
बाढीपीडितलाई सहयोग गर्ने कार्य सकारात्मक र आवश्यक रहेको भन्दै व्यवसायीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन्।
यसैबीच, नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले आफ्ना आबद्ध सम्पूर्ण संघ–संस्थालाई एकद्वार प्रणालीमार्फत राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्न अपिल गरिसकेको अवस्थामा, उक्त राहत वितरण कार्यक्रम भने व्यक्तिगत रूपमा व्यवसायीहरूको पहलमा गरिएको जनाइएको छ।
महासचिव हेम राईले उक्त राहत कार्यक्रम कुनै औपचारिक संस्थागत निर्णयबिना व्यक्तिगत व्यवसायीहरूको पहलमा भएको अवस्थामा संस्थाको ब्यानर प्रयोग गरिएको विषय दुःखद भएको बताएका छन्। उनका अनुसार विपद्का बेला व्यवसायीहरूले व्यक्तिगत रूपमा गरेको सहयोग प्रशंसनीय भए पनि संस्थागत निर्णय, समन्वय र एकद्वार प्रणालीको पालना हुनु आवश्यक रहेको छ।
महासचिव राईले व्यक्तिगत पहल र संस्थागत गतिविधिबीच स्पष्ट भिन्नता कायम गर्दै आगामी दिनमा राहत तथा सामाजिक कार्यहरूमा सुनचाँदी क्षेत्रको सामूहिक सहभागिता र संस्थागत एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
What's Your Reaction?





