वस्तुगत उपाध्यक्षमा सुबिन बज्राचार्य

 0  10
वस्तुगत उपाध्यक्षमा सुबिन बज्राचार्य

ललितपुर — ललितपुर उद्योग वाणिज्य संघको ४७औँ निर्वाचनमा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्य वस्तुगत (संस्थागत) उपाध्यक्ष पदका उम्मेदवार बनेका छन्। उनी भूमि नन्दन कर्माचार्य नेतृत्वको समूहबाट उम्मेदवारी दिएका हुन्।

बज्राचार्य नेतृत्वको समूहले परम्परागत हस्तकला, सुनचाँदी तथा मौलिक व्यवसायको संरक्षण र प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। साथै, वस्तुगत संघ–संस्थाको हकहित संरक्षण, व्यवसायीले भोग्दै आएका कर तथा प्रशासनिक समस्या समाधानमा सहजीकरण र संघको संस्थागत सबलीकरणलाई समेत समूहले मुख्य एजेन्डाका रूपमा अघि सारेको छ।

आगामी २०८३ असोज २४ गते हुने निर्वाचनलाई लक्षित गर्दै कर्माचार्य नेतृत्वको समूहले चुनावी अभियान तीव्र बनाएको छ। समूहले “अनुभव, दूरदृष्टि र सबल नेतृत्व–हस्तकला तथा सुनचाँदी व्यवसायीको बलियो आवाज” भन्ने नारासहित व्यवसायी तथा संघ–संस्थासँग छलफल र भेटघाटलाई प्राथमिकता दिँदै अभियान अघि बढाइरहेको जनाएको छ।

सुनचाँदी तथा हस्तकला क्षेत्रसँग लामो समयदेखि जोडिएका बज्राचार्यले वस्तुगत संघ–संस्थाका समस्या र व्यवसायीका मुद्दालाई उद्योग वाणिज्य संघको नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीलाई सुनचाँदी तथा हस्तकला क्षेत्रका व्यवसायीको प्रतिनिधित्वलाई थप बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow