खेर जाने किम्बुबाट वाइन बनाएर उदाहरणीय बने चापागाउँका किसान विकास देसार
२० जेठ, काठमाडौं।
ललितपुरको गोदावरी नगरपालिका–११, चापागाउँका किसान विकास देसार कृषि क्षेत्रमा उदाहरणीय नाम बन्नुभएको छ। परम्परागत खेती प्रणालीमा मात्रै सीमित नरही उत्पादनको बजारीकरण, प्रशोधन र मूल्य अभिवृद्धिमा उहाँले देखाउनुभएको सक्रियताले धेरैको ध्यान खिचेको छ।
गाउँघरमा सामान्य रूपमा खेर जाने फलफूललाई प्रशोधन गरेर आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने उदाहरण देसारले प्रस्तुत गर्नुभएको छ। विशेषगरी चाँडै बिग्रने किम्बुलाई सदुपयोग गर्दै उहाँले ‘किम्बुको वाइन’ उत्पादन गर्न थाल्नुभएको हो।
किम्बु टिपेकै दिन खानुपर्ने र भोलिपल्टै बिग्रन सक्ने प्रकृतिको फल हो। धेरै मात्रामा उत्पादन हुँदा किम्बु कुहिएर जाने समस्या देखेपछि देसारले त्यसलाई वाइनमा रूपान्तरण गर्ने उपाय अपनाउनुभएको हो। करिब १५ देखि ३० दिनको मेहनतपछि तयार हुने किम्बुको वाइनमा १२ देखि १६ प्रतिशतसम्म अल्कोहलको मात्रा हुने उहाँ बताउनुहुन्छ।
“खेर जाने चिजलाई कसरी सदुपयोग गर्ने भन्ने सोच्दा वाइन बनाउने विचार आयो। अहिले यो उत्पादन व्यावसायिक रूपमा सफल हुँदै गएको छ,” देसारले भन्नुभयो। हाल उहाँले घरेलु रूपमा तयार गरिएको किम्बुको वाइन प्रतिलिटर ७०० देखि १२०० रुपैयाँसम्ममा बिक्री गर्दै आउनुभएको छ।
वाइन उत्पादन मात्र होइन, फलफूलको प्याकेजिङ र बजारीकरणमा पनि देसारको शैली फरक छ। गाउँघरमा चराचुरुङ्गीले खाने वा झरेर खेर जाने खुर्पानीलाई उहाँले व्यवस्थित रूपमा प्लास्टिकको बट्टामा प्याक गरी बजारमा ल्याउनुभएको छ। उहाँका अनुसार प्याकेजिङ गर्दा फलफूल लामो समयसम्म सुरक्षित रहन्छ र ग्राहकले पनि गुणस्तरीय सामग्री पाउँछन्।
देसारले ७ देखि ८ वटा खुर्पानी भएको एउटा प्याकेट २५ रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ। किसानले सामान्य प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान दिन सके राम्रो आम्दानी लिन सक्ने उहाँको अनुभव छ।
विकास देसारको मुख्य व्यावसायिक पहिचान भने च्याउ खेती हो। उहाँ सिताके र गोब्रे च्याउका सफल उत्पादक मात्र नभई प्रशिक्षकसमेत हुनुहुन्छ। उहाँको खेती प्रणाली व्यवस्थित र चक्रिय छ। च्याउ खेतीबाट निस्कने अवशेषलाई उहाँले तरकारी बारीमा जैविक मलका रूपमा प्रयोग गर्नुहुन्छ। यसले एकातिर फोहर व्यवस्थापनमा सहयोग पुर्याएको छ भने अर्कोतिर अर्गानिक तरकारी उत्पादनमा मद्दत गरेको छ।
उहाँले उत्पादन गरेका अर्गानिक तथा रैथाने उत्पादनहरू ग्राहकसम्म पुर्याउन देसार आफैँ बजारसम्म पुग्ने गर्नुहुन्छ। हरेक शनिबार काठमाडौंको कमलादीस्थित **आईटी प्लाजामा लाग्ने ‘रैथाने कृषि हाटबजार’**मा उहाँले आफ्ना उत्पादन बिक्रीका लागि राख्दै आउनुभएको छ।
उपभोक्ताले उक्त हाटबजारमा पुगेर देसारको फार्ममा उत्पादित ताजा तरकारी, खुर्पानी तथा विशेष किम्बुको वाइन खरिद गर्न सक्नेछन्। उहाँको सक्रियताले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरेको छ।
देसारको प्रयासले कृषिमा उत्पादन मात्र होइन, त्यसको सही प्रशोधन, प्याकेजिङ र बजारीकरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ। उहाँको कामले “कृषिमा खेर जाने केही हुँदैन, सोच र सीप भए त्यही वस्तु आम्दानीको स्रोत बन्न सक्छ” भन्ने उदाहरण प्रस्तुत गरेको छ।
स्रोत : कृषि सूचना
What's Your Reaction?





