नवनियुक्त बोर्ड अध्यक्ष भट्टले लिए शपथ, लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी काम गर्ने प्रतिबद्धता
काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए।
बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न भन्दै अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेश गर्न पनि निर्देशन दिए। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।
कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताउँदै आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
What's Your Reaction?





