ग्यासको आपूर्ति सहज बन्दै छ, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : आयल निगम

 0  8
ग्यासको आपूर्ति सहज बन्दै छ, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : आयल निगम

काठमाडौं, २ भदौ ।  नेपाल आयल निगमले अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । अहिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै निगमले केही दिनमै अवस्था सामान्य हुने समेत बताएको छ ।

निगमका अनुसार हाल काठमाडौं उपत्यकामा औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको छ । उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन । गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री सुरु गरेको थियो । त्यसको असर अहिले देखिएको मात्रै हो । तर यो लामो समयसम्म जाँदैन ।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको छ भने अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार “काठमाडौं उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ । आज भदौ २ गते मात्रै काठमाडौं उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दै छन् ।”

निगमले पछिल्लो एक साता अर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भइरहेको जनाएको छ । यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow