अब अनलाइन व्यवसाय अनिवार्य दर्ता गर्नुपर्ने
काठमाडौं, २ भदौ । सरकारले अनलाइन माध्यमबाट वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणको माध्यमबाट वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जाल तथा विभिन्न मार्केटप्लेसमार्फत वस्तु तथा सेवा बिक्री–वितरण गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता हुन ताकेता गरेको हो ।
डिजिटल माध्यमबाट हुने व्यापारलाई नियमन गर्दै व्यवसायी र उपभोक्ता दुवैको अधिकार सुनिश्चित गर्ने उद्देश्यले विभागले अनलाइन व्यापार सञ्चालन गर्दै आएका व्यवसायीलाई कानुनी व्यवस्था पालना गरी तोकिएको प्रक्रियाअनुसार आफ्नो व्यवसाय सूचीकृत गर्न आग्रह गरेको छ ।
पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी, गुणस्तरहीन वस्तु बिक्री तथा कारोबारसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन दर्ता प्रक्रियामा कडाइ गर्न थालेको हो ।
विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।
What's Your Reaction?





