व्यक्तिगत प्रचारबाजी होइन, सुनचाँदी क्षेत्रको उपस्थिति देखाऔँ
देश यतिबेला बाढी तथा प्राकृतिक विपद्का कारण गम्भीर संकटको अवस्थामा छ। हजारौँ नागरिक प्रभावित भएका छन्, कतिपय परिवारले घरबार गुमाएका छन् भने धेरैको दैनिकी नै अस्तव्यस्त बनेको छ। यस्तो कठिन परिस्थितिमा पीडित नागरिकका लागि तत्काल राहत, सहयोग र मानवीय साथ आवश्यक छ। देशलाई संकट परेको बेला सरकारको मात्र जिम्मेवारी होइन, हरेक नागरिक, व्यवसायी, संघ–संस्था तथा सामाजिक क्षेत्रले आफ्नो क्षमताअनुसार योगदान गर्नु आजको आवश्यकता हो।
यही भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले “एक सुनचाँदी व्यवसायी, एक हजार” सहयोग अभियान सञ्चालन गरेको छ। देशभरका सुनचाँदी व्यवसायीलाई एउटै अभियानमा जोड्ने उद्देश्यले अघि बढाइएको यो पहल केवल आर्थिक सहयोग सङ्कलन गर्ने अभियान मात्र होइन; विपद्को समयमा सिंगो सुनचाँदी व्यवसायी क्षेत्र राष्ट्र र नागरिकको साथमा छ भन्ने स्पष्ट सन्देश दिने अभियान पनि हो।
संकटको घडीमा पीडित नागरिकको साथमा उभिनु, आफ्नो क्षमताअनुसार सहयोग गर्नु र राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नु नै ठूलो योगदान हो। अझ महत्वपूर्ण कुरा, यस्ता सामाजिक कार्यले राज्य र आम समाजसमक्ष सुनचाँदी क्षेत्रको उपस्थिति, जिम्मेवारी र सामाजिक योगदान स्थापित गर्ने काम गर्छ। यसले भोलिका दिनमा सुनचाँदी क्षेत्रका नीति, नियम, व्यवसायिक वातावरण, सेवा–सुविधा, अधिकार तथा समग्र क्षेत्रका विषयहरू राज्यसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने आधार पनि निर्माण गर्छ। राज्यले कुनै क्षेत्रको सामूहिक आवाज र योगदानलाई जति बलियो रूपमा अनुभूति गर्छ, त्यति नै त्यस क्षेत्रका जायज माग र मुद्दालाई सम्बोधन गराउन सहज हुन्छ।
सुनचाँदी महासंघ बाट पाठ सिकौ !
नेपाल सुनचाँदी व्यवसायी महासंघले हालै करिब १ करोड ११ लाख ११ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ। यस अभियानमा महासंघमा आबद्ध विभिन्न संघ–संस्था, जिल्ला संघ तथा व्यवसायीहरूको एकता र सहयोग महत्वपूर्ण रहेको छ।
महासंघमा आबद्ध संघ–संस्थाहरूले आफ्नो अभिभावक संस्थाको भूमिका र संस्थागत अवधारणालाई आत्मसात् गर्दै एकद्वार प्रणालीमार्फत सामूहिक रूपमा अघि बढेको देखिन्छ। यही नै संस्थागत एकताको वास्तविक उदाहरण हो।
यदि यस्तो एकता, संस्थागत सोच र सामूहिक पहलबाट यति ठूलो योगदान सम्भव हुन्छ भने, यही पाठ नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघमा आबद्ध अन्य संघ–संस्थाहरूले पनि किन नसिक्ने?
महासंघमा आबद्ध जिल्ला संघ, एसोसिएसन तथा अन्य संघ–संस्थाहरूले आफ्नो अभिभावक संस्थाको निर्णय, निर्देशन र संस्थागत अभियानलाई आत्मसात् गर्दै एकताबद्ध भएर अघि बढ्दा त्यसको परिणाम राष्ट्रिय स्तरमै देखिन सक्छ।
प्रश्न सहयोगको रकमको होइन, जिम्मेवारीको हो
के नुवाकोट र रसुवा जिल्ला नेपालको भूगोलमा कहाँ पर्छ भन्ने जानकारी नभएर नेपाल सुनचाँदी महासंघमा आबद्ध संघ–संस्थाहरू त्यहाँ पुग्न नसकेका हुन्?
के आफ्नै क्षमताअनुसार एक बोरा चामल वा एक बाकस चाउचाउ किनेर विपद्मा परेका नागरिकसम्म पुर्याउन नसकिने उनीहरुको अवस्था हो?
यहाँ प्रश्न सहयोगको मूल्य ठूलो वा सानो भन्ने होइन। प्रश्न मन, जिम्मेवारी, संवेदनशीलता र संस्थागत सहभागिताको हो।
आजको सामाजिक सञ्जालको युगमा राहत सामग्री वितरण गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढेको छ। व्यक्तिगत रूपमा गरिएको सहयोग पनि महत्वपूर्ण छ र त्यसको सम्मान गर्नुपर्छ।तर हाम्रो उद्देश्य व्यक्तिगत प्रचारबाजी गर्नु मात्र होइन; सिंगो सुनचाँदी क्षेत्रको संस्थागत उपस्थिति देखाउनु पनि हो। जब सिंगो सुनचाँदी क्षेत्र एउटै संस्थागत संरचनामार्फत एकताबद्ध भएर राज्य र नागरिकको साथमा उभिन्छ, त्यसको प्रभाव धेरै व्यापक हुन्छ।
त्यसैले आजको राहत कार्यलाई व्यक्तिगत प्रचारको माध्यमभन्दा माथि उठाएर सुनचाँदी व्यवसायी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वका रूपमा स्थापित गर्न आवश्यक छ।
किनकि भोलि राज्यसमक्ष सुनचाँदी व्यवसायीका नीति, कर, व्यवसायिक सुरक्षा, बजार व्यवस्थापन, कच्चा पदार्थ, आयात–निर्यात, नियमन, सेवा–सुविधा तथा व्यवसायिक अधिकारका विषयमा आवाज उठाउनुपर्ने हुन्छ। त्यसका लागि बलियो र प्रतिनिधिमूलक संस्थागत आवाज आवश्यक हुन्छ।
महासंघभित्र कुनै व्यक्ति वा नेतृत्वप्रति असन्तुष्टि हुन सक्छ। कुनै व्यक्ति गलत हुन सक्छ। नेतृत्व परिवर्तनको आवश्यकता पनि पर्न सक्छ। त्यसको लोकतान्त्रिक र संस्थागत विकल्प सधैँ हुन्छ।
व्यक्ति परिवर्तन गर्न सकिन्छ। नेतृत्व सुधार गर्न सकिन्छ। कार्यशैली सच्याउन सकिन्छ। तर सिंगो संस्था र संस्थागत संरचनालाई कमजोर बनाउनु समाधान होइन।
कुनै व्यक्तिको कमजोरीलाई आधार बनाएर सिंगो संस्थालाई कमजोर बनाउने प्रयास दीर्घकालीन रूपमा खतरनाक हुन्छ। आज कुनै व्यक्ति उपयुक्त छैन भने भोलि अर्को सक्षम व्यक्ति आउन सक्छ। नेतृत्व परिवर्तन हुन सक्छ, जिम्मेवारी हस्तान्तरण हुन सक्छ।
तर महासंघ नै कमजोर भयो भने त्यसको असर आजका पदाधिकारीमा मात्र सीमित हुँदैन; आगामी पुस्ताका सुनचाँदी व्यवसायीले समेत त्यसको मूल्य चुकाउनुपर्ने हुन्छ।
त्यसैले व्यक्ति र संस्थाबीचको फरक बुझ्न आवश्यक छ। व्यक्ति अस्थायी हुन्छ, संस्था दीर्घकालीन हुन्छ। नेतृत्व परिवर्तनशील हुन्छ, तर संस्थागत संरचना क्षेत्रको स्थायी शक्ति हो।
What's Your Reaction?





