मानवीय सेवामा नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, बाढीपीडितलाई राहत वितरण

 0  30
मानवीय सेवामा नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, बाढीपीडितलाई राहत वितरण

भुपेन बिके, नुवाकोट । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले बाढी तथा डुबानबाट प्रभावित परिवारका लागि रु. १० लाख ५० हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको छ। संघले उक्त राहत सामग्री सम्बन्धित क्याम्पका अध्यक्ष, सचिव तथा संयोजकलाई हस्तान्तरण गरेको हो।

संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको टोली राहत सामग्रीसहित नुवाकोट पुगेको थियो। विपद्को यस दुःखद घडीमा पीडित परिवारको साथमा उभिँदै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको संघले जनाएको छ।

संघले विदुर नगरपालिका–३ अन्तर्गत देवीघाट तथा बुद्धसिंह, वडा नं. ७ का सोले र टुप्चे तथा वडा नं. ९ का हात्तीगौंडा र किस्ताङलगायत बाढी प्रभावित क्षेत्रका परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको जनाएको छ।

विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक संस्था तथा व्यवसायी समुदायको समेत दायित्व भएकाले संघले आफ्नो तर्फबाट राहत अभियान सञ्चालन गरेको जनाएको हो।

राहत वितरण कार्यक्रममा रत्न तथा आभूषण महासङ्घका केन्द्रीय सदस्य भुपेन बिके, रत्न तथा आभूषण महासङ्घ, बागमती प्रदेशका उपाध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष हरि दियाली, प्रदेश सदस्य विष्णु खाती, निवर्तमान अध्यक्ष अर्जुन दुराइली, महासचिव त्रिलोचन विश्वकर्मा लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

संघले बाढीबाट प्रभावित व्यवसायी तथा परिवारहरूको अवस्था बुझ्दै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, बाढीबाट प्रभावित आफ्ना व्यवसायीहरूलाई आवश्यक आर्थिक सहयोगसमेत गर्ने संघका अध्यक्ष केशवबहादुर सुनारले बताउनुभयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow