रसुवा बाढीमा दिवंगत भएका प्रहरी कर्मचारीको परिवारलाई १० लाख दिइने
काठमाडौं, १८ भदौ । नेपाल प्रहरीले रसुवा बाढीमा परेर दिवंगत भएका प्रहरी कर्मचारीको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, छोराछोरीलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने, इच्छुक परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने निर्णय गरेको हो ।
यसका साथै बाढी प्रभावित प्रहरी इकाइमा कार्यरत कर्मचारीका व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत दिने र घाइते प्रहरी कर्मचारीको उपचारमा आवश्यक सबै सहयोग उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।
What's Your Reaction?





