नयाँ दिल्लीमा ‘चलो संसद’ मार्च: प्रदर्शनकारी र प्रहरीबीच झडप, सुरक्षा व्यवस्था कडा

 0  7
नयाँ दिल्लीमा ‘चलो संसद’ मार्च: प्रदर्शनकारी र प्रहरीबीच झडप, सुरक्षा व्यवस्था कडा

४ साउन ,नयाँ दिल्ली (एजेन्सी) – भारतको राजधानी नयाँ दिल्लीमा सोमबार कक्रोज जनता पार्टी (Cockroach Janta Party–CJP) ले आयोजना गरेको ‘चलो संसद’ मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। संसदको मनसुन अधिवेशनको पहिलो दिनसँगै प्रदर्शन भएपछि संसद भवन वरपरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो।

जन्तर–मन्तरबाट सुरु भएको मार्च संसद भवनतर्फ अघि बढेपछि प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड हटाउने प्रयास गरेका थिए। त्यसपछि दिल्ली प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

संसद भवन र सेन्ट्रल भिस्टा क्षेत्रलाई उच्च सुरक्षा घेराभित्र राखिएको थियो। दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै BNSS को धारा १६३ (पूर्व धारा १४४) लागू गरिएको थियो। संसद मार्ग, जन्तर–मन्तर र आसपासका क्षेत्रमा हजारौं सुरक्षाकर्मी, र्‍यापिड एक्शन फोर्स (RAF) तथा ‘वज्र’ दंगा नियन्त्रण सवारी परिचालन गरिएको थियो।

यसैबीच, संसदको मनसुन अधिवेशन जारी रहँदा बाहिर प्रदर्शन चर्किएपछि केही समयका लागि संसदको कार्यवाही प्रभावित भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी पनि संसद भवनबाट बाहिरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रदर्शनको नेतृत्व गरिरहेका कक्रोज जनता पार्टीका संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको छ। उनी यसअघि आन्दोलनको समर्थनमा अनिश्चितकालीन अनशनमा समेत बसेका थिए।

यस आन्दोलनलाई सामाजिक अभियन्ता सोनम वाङचुकसहित विभिन्न विद्यार्थी तथा युवा समूहले समर्थन जनाएका छन्। आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा सुधार, कथित परीक्षासम्बन्धी अनियमितताको निष्पक्ष छानबिन तथा सरकारसँग वार्ताको माग राखेका छन्। सरकारका तर्फबाट केन्द्रीय मन्त्री जे.पी. नड्डामार्फत वार्ताको पहल गरिएको बताइएको छ।

भारतको राजधानीमा संसद अधिवेशनसँगै भएको यस प्रदर्शनलाई पछिल्ला महिनाहरूमा देखिएको सबैभन्दा ठूलो राजनीतिक तथा विद्यार्थी आन्दोलनमध्ये एकका रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमहरूको विश्लेषण छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow