रत्न तथा आभूषण महासंघको औचित्यमाथि प्रश्न, अध्यक्ष फोरमको भूमिकाबारे बहस
काठमाडौं। राजधानीस्थित सिद्धार्थ फुडल्याण्डमा असोज २४ गते शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमले सुनचाँदी व्यवसाय क्षेत्रभित्रको संस्थागत सम्बन्ध, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको कार्यसम्पादन, संस्थागत जवाफदेहिता र अध्यक्ष फोरमको औचित्यमाथि बहस सिर्जना गरेको छ।
सुनचाँदी खरिदसम्बन्धी विषयलाई मुख्य एजेन्डा बनाएर आयोजना गरिएको कार्यक्रममा महासंघको भूमिका, व्यवसायीका साझा समस्या समाधानमा पदाधिकारीहरूको जिम्मेवारी, विभिन्न संघ–संस्थाबीचको समन्वय तथा अध्यक्ष फोरमको उद्देश्य र कार्यशैलीबारे गम्भीर प्रश्न उठेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्माले गरेका थिए। संघका कार्यकारी निर्देशक हरि विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव प्रेम लकान्द्रीले गरेका थिए।
कार्यक्रममा नेपाल सुनचाँदी महासंघका महासचिव नवीनभाइ बज्राचार्य, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रथम उपाध्यक्ष द्वारिका शंकर, सचिव केसर सेन्चुरी, केन्द्रीय कार्यसमिति सदस्य सूर्य बराल, नेपाल सुनचाँदी कला व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार घनश्याम रिजाल, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष तथा महासंघका केन्द्रीय कार्यसमिति सदस्य केशव विश्वकर्मा, रत्न तथा आभूषण संघ नेपालका महासचिव पूर्ण कोइराला,बागमती प्रदेश महासचिब बालकुमार दर्नाल लगायत उपत्यकामा क्रियाशील विभिन्न सुनचाँदी व्यवसायी संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
महासंघको कार्यसम्पादनमाथि प्रश्न, पदाधिकारीको मौनताबारे चासो
कार्यक्रममा आयोजक नेपाल सुनचाँदी कला व्यवसायी संघले प्रस्तुत गरेको कार्यपत्रमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले व्यवसायीका समस्या समाधानमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको, समस्याका समयमा प्रभावकारी पहल नगरेको तथा संस्थागत जिम्मेवारी पूरा गर्न नसकेको आशयका कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यपत्रमा उठाइएका विषयले महासंघको कार्यक्षमता र संस्थागत औचित्यमाथि प्रश्न खडा गरेको सहभागीहरूको बुझाइ थियो। महासंघको कार्यसम्पादनमाथि आलोचना प्रस्तुत भइरहँदा उपस्थित महासंघका जिम्मेवार पदाधिकारीहरूबाट कुनै स्पष्ट प्रतिवाद नआएको विषयमा सहभागी संघ–संस्थाका प्रतिनिधिहरूले आश्चर्य व्यक्त गरेका थिए।
महासंघभित्रै कुनै असमझदारी वा आन्तरिक खिचातानीका कारण यस्तो अवस्था सिर्जना भएको हो कि भन्ने आशंकासमेत केही सहभागीले व्यक्त गरेका थिए।
महासंघका प्रथम उपाध्यक्ष द्वारिका शंकरले कार्यपत्रमाथि आफ्नो धारणा राख्दै महासंघले जारी गरेको २०८१ को आचारसंहिताअनुसार दैनिक कारोबार भइरहेको र महासंघ व्यवसायीको हित तथा समस्याप्रति सधैँ चिन्तित रहेको बताएका थिए। उनले महासंघमाथि लगाइएका आरोपको पूर्ण रूपमा खण्डन गर्दै पर्याप्त आधारबिना दोषारोपण गर्नु गलत प्रवृत्ति भएको बताएका थिए।
महासंघका बैठक तथा छलफलमा आफ्ना समस्या र असन्तुष्टि प्रस्तुत नगरी बाहिर आलोचना गर्नु उचित नभएको उनको भनाइ थियो। व्यवसायीका समस्या समाधानका लागि संस्थागत छलफल र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका थिए।
महासंघको जिम्मेवारी कसले लिने?
छलफलमा सहभागी विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले महासंघको कार्यसम्पादनमाथि प्रश्न उठ्दा त्यसको जवाफदेहिता कसले लिने भन्ने जिज्ञासा राखेका थिए।
नेपाल सुनचाँदी कला व्यवसायी संघबाट महासंघको कार्यसमितिमा उल्लेख्य प्रतिनिधित्व रहेको अवस्थामा महासंघको कार्यक्षमतामाथि प्रश्न उठ्दा त्यसको जिम्मेवारी सम्बन्धित पदाधिकारी, प्रतिनिधि तथा उनीहरू आबद्ध संस्थाले लिनुपर्ने कि नपर्ने भन्ने विषयमा बहस भएको थियो।
महासंघको नेतृत्व तथा कार्यसमितिमा रहेका व्यक्तिहरूले व्यवसायीका समस्या समाधान गर्न के पहल गरे? कुन प्रस्ताव अघि सारे? आवश्यक सुधारका लागि कस्तो भूमिका निर्वाह गरे? र संस्थागत कमजोरी देखिए त्यसको जिम्मेवारी कसले लिने? भन्ने प्रश्नहरू सहभागीहरूले उठाएका थिए।
महासंघको कार्यसम्पादनमाथि आलोचना गर्ने पक्षले आफ्नै संस्थाबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरूको भूमिका र योगदानबारे पनि स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने सहभागीहरूको आशय थियो।
यसरी सुनचाँदी खरिददरको विषयलाई मुख्य एजेन्डा बनाइएको कार्यक्रम महासंघको आगामी निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको हो कि भन्ने आशंकासमेत केही सहभागीले व्यक्त गरेका थिए।
अध्यक्ष फोरमको औचित्य : साझा चौतारी कि संस्थागत प्रतिस्पर्धा?
कार्यक्रममा अध्यक्ष फोरमको उद्देश्य, भूमिका र अस्तित्वबारे पनि चर्चा भएको थियो।
जानकारहरूका अनुसार अध्यक्ष फोरमको अवधारणा उपत्यकामा क्रियाशील सुनचाँदी व्यवसायीका साझा समस्या पहिचान गर्ने, समाधानका उपायबारे छलफल गर्ने तथा विभिन्न संघ–संस्थाबीच समन्वय र सहकार्य बढाउने साझा मञ्चका रूपमा विकास भएको हो।
यसको स्थापनामा नेपाल सुनचाँदी कला व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार घनश्याम रिजाललगायत व्यवसायी तथा अगुवाहरूको सल्लाह र सुझाव महत्त्वपूर्ण रहेको बताइन्छ। त्यसपछि वर्तमान अध्यक्ष बालकुमार विश्वकर्माले पनि फोरमलाई निरन्तरता दिँदै आएको जनाइएको छ।
फोरमको पछिल्लो बैठक नेपाल सुनचाँदी व्यवसायी संघ, ललितपुरले आयोजना गरेको छलफलमा अध्यक्ष विश्वकर्मा स्वयं उपस्थित भई हस्ताक्षरसमेत गरेको विवरण सहभागीहरूले दिएका छन्।
फोरमको मूल उद्देश्य कुनै एक संघ, महासंघ वा व्यक्तिको पक्षमा उभिनु नभई व्यवसायीका साझा समस्या पहिचान गर्ने, समाधानका उपाय खोज्ने र साझा धारणा निर्माण गर्नु रहेको यसमा आबद्ध प्रतिनिधिहरूको भनाइ छ।
उपत्यकामा रहेका नेपाल सुनचाँदी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघसँग सम्बन्धित विभिन्न संघ–संस्थाबीच संवाद र सहकार्य बढाउन अध्यक्ष फोरमले पुलको भूमिका निर्वाह गर्न सक्ने उनीहरूको धारणा छ।
‘लुज फोरम’ नामकरणप्रति असन्तुष्टि
अध्यक्ष फोरमको अवधारणाअनुसार नेपाल सुनचाँदी कला व्यवसायी संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल सुनचाँदी महासंघका महासचिव नवीनभाइ बज्राचार्य, ललितपुर सुनचाँदी व्यवसायी संघ, भक्तपुर सुनचाँदी व्यवसायी संघलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्बन्धित महासंघमा आबद्ध संस्थाका प्रतिनिधिहरूलाई मात्र सहभागी गराउने परम्पराभन्दा फरक रूपमा विभिन्न संघ–संस्थालाई एउटै मञ्चमा ल्याइनुलाई अन्तरसंस्थागत संवादका दृष्टिले अध्यक्ष फोरमको सकारात्मक अभ्यासका रूपमा हेरिएको थियो।
तर, यही फोरमलाई ‘लुज फोरम’ नामकरण गरेर यसको अवधारणा र भूमिकालाई हल्का रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै केही उपस्थित प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका थिए। साझा समस्या समाधानका लागि स्थापित मञ्चको उद्देश्य र उपलब्धिबारे तथ्यमा आधारित छलफल हुनुपर्ने उनीहरूको धारणा थियो।
छलफलमा सहभागी केही प्रतिनिधिहरूले अध्यक्ष फोरममार्फत कुनै एउटा संस्थाको मात्र स्वार्थ पूरा हुन नसक्दा तथा आफूलाई समग्र सुनचाँदी क्षेत्रको एकमात्र प्रतिनिधि ठान्ने प्रवृत्तिका कारण फोरमको अस्तित्वमाथि प्रश्न उठाउन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरेका थिए।
कार्यक्रम सञ्चालन शैलीमाथि पनि असन्तुष्टि
कार्यक्रमको सञ्चालन शैली, वक्ताहरूलाई दिइएको समय र फरक धारणा राख्ने अवसरका विषयमा समेत सहभागीहरूले असहमति व्यक्त गरेका थिए।
आयोजक संस्थाका प्रतिनिधिहरूलाई पर्याप्त समय दिइएको तर अन्य संघ–संस्थाका प्रतिनिधिहरूलाई आफ्ना धारणा तथा सुझाव राख्न पर्याप्त अवसर नदिइएको सहभागीहरूको आरोप थियो।
कार्यक्रम बिहान ९ बजेका लागि बोलाइए पनि दिउँसो करिब १ बजेदेखि मात्र सञ्चालन भएको तथा छलफलमा सबै पक्षलाई समान अवसर नदिइएको भन्दै केही सहभागीले असन्तुष्टि जनाएका थिए।
सुनचाँदी खरिददरमा एकरूपता कायम गर्ने विषयमा छलफल गर्ने भनिए पनि बहस सीमित व्यक्तिहरूको धारणामा केन्द्रित भएको र अन्य संस्थाका विचारलाई पर्याप्त स्थान नदिइएको उनीहरूको गुनासो थियो।
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई आमन्त्रण गरिसकेपछि उनीहरूका विचार र सुझाव सुन्नु पनि आयोजकको संस्थागत दायित्व भएको सहभागीहरूको धारणा थियो। फरक मतलाई सम्मान नगरी आफ्नै संस्थाको धारणा जबर्जस्ती स्थापित गर्न खोज्नु संस्थागत मर्यादा र आपसी सहकार्यको भावनाविपरीत हुने उनीहरूको भनाइ थियो।
संस्थागत विरासत र वर्तमान नेतृत्वको जिम्मेवारी
सुनचाँदी व्यवसाय क्षेत्रको संस्थागत विकासमा योगदान पुर्याएका नेपाल सुनचाँदी कला व्यवसायी संघका संस्थापक अध्यक्ष असल शंकर, पूर्वअध्यक्ष रामप्रसाद लकान्द्री तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रथम उपाध्यक्ष एवं संघका पूर्वअध्यक्ष द्वारिका शंकरलगायत अगुवाहरूको भूमिका र योगदान रहेको देशकै अग्रज सस्था कता जादैछ भनि सहभागीहरुले चिन्ता ब्याक्त गरेका थिए ।
What's Your Reaction?





