सुनचाँदी क्षेत्रको शिप प्रवर्द्धन शुल्क कहिलेदेखि लागू हुन्छ?
२५ असार, काठमाडौं | नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आफ्ना आबद्ध सदस्य व्यवसायीहरूलाई हालका लागि साबिककै बिलबिजक प्रयोग गरी नियमित कारोबार सञ्चालन गर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष किसान सुनुवारका अनुसार - आन्तरिक राजस्व विभागबाट शिप प्रवर्द्धन शुल्क उल्लेख गरिएको आधिकारिक बिलको नमूना तथा आवश्यक निर्देशन प्राप्त नभएसम्म साथै असार मसान्तसम्म साबिककै बिलबिजक प्रयोग गरी कारोबार गर्नुपर्ने अवस्था रहेको छ।
महासंघले यस सम्बन्धी परिपत्र आफ्ना सबै आबद्ध संघ–संस्थाहरूमा पठाइसकेको जनाएको छ। साथै, सम्बन्धित संघ–संस्थाहरूलाई उक्त सूचना आफ्ना सदस्य व्यवसायीहरूमाझ यथाशीघ्र सम्प्रेषण गरी आवश्यक सहजीकरण गर्न पनि आग्रह गरिएको छ।
महासंघका अनुसार आन्तरिक राजस्व विभागबाट आधिकारिक नमूना बिल, परिपत्र वा नयाँ निर्देशन प्राप्त हुनेबित्तिकै सम्बन्धित व्यवसायीहरूलाई पुनः जानकारी गराइनेछ।
महासंघका अध्यक्ष किसान सुनुवारले शिप प्रवर्द्धन शुल्क साउन १ गतेदेखि मात्र कार्यान्वयनमा आउने उल्लेख गर्दै त्यसअघिसम्म पुरानै व्यवस्थाअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। साथै, साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार आवश्यक बिलबिजक तथा प्रक्रिया अवलम्बन गर्न व्यवसायीहरूलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरेका छन्।
What's Your Reaction?





