महासंघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख सहयोग

 0  15
महासंघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख सहयोग

६ असोज, काठमाडौं । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० लाख ५ हजार ५ सय ५५ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

महासंघका केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्य, सातै प्रदेश महासंघका अध्यक्ष तथा आबद्ध सदस्य संघका अध्यक्षहरूको सहभागितामा भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो।

व्यवसायीहरूबाट संकलित रकममध्ये रु. ४०,०५,५५५ महासंघद्वारा गठित संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव नीरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको महासंघले जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशरबहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा, रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल, नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवा, कार्यालय प्रमुख राम महर्जनलगायतको उपस्थिति थियो।

महासंघका अनुसार संकलित बाँकी रकममा महासंघको कोषबाट समेत थप गरी विपद्बाट प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई उनीहरूको अवस्था र आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराउने योजना रहेको छ।

महासंघले विपद्को कठिन परिस्थितिमा राहत तथा उद्धार कार्यका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यवसायी, पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश महासंघ तथा आबद्ध सदस्य संघहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow