होसियार! तपाईं पनि यस्ता ठगहरूको निशानामा पर्न सक्नुहुन्छ
२५ असार, उदयपुर | उदयपुरको उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गरिदिने बहानामा ठगी तथा चोरीमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्यका गोविन्द साह र सचिन साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीहरूले ग्रामीण क्षेत्रका महिलालाई सुनका गहना निःशुल्क सफा गरिदिने भन्दै विश्वासमा पारेर सुनका गहना चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनीहरूले स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा पुगेर गहना सफा गरिदिने बहाना बनाई सुनका गहना चोरी गरेका थिए।
घटना भएपछि पीडित महिलाले तत्काल प्रहरी चौकी उदयपुरगढीमा जानकारी गराएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरी दुवै अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवैजनाविरुद्ध ठगी तथा चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
What's Your Reaction?





