नेपालमा सुनखानीको खोजी , १० कम्पनीले पाए अन्वेषण लाइसेन्स
२३ असार, काठमाडौं । नेपालका विभिन्न १३ स्थानमा फैलिएको कुल ६८.४१ वर्ग किलोमिटर क्षेत्रफल भित्र सुनखानीको अन्वेषण गर्न १० वटा कम्पनीले लाइसेन्स प्राप्त गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभाग ले सुनको सम्भावित भण्डार पहिचान तथा भविष्यमा उत्खननको आधार तयार गर्ने उद्देश्यले उक्त अनुमति प्रदान गरेको हो।
विभागका अनुसार अनुमति प्राप्त कम्पनीहरूले सम्बन्धित क्षेत्रमा भौगर्भिक अध्ययन, नमुना संकलन तथा परीक्षणसहित सुनको सम्भावित भण्डारबारे विस्तृत अनुसन्धान गर्नेछन्। यसबाट नेपालमा सुनको भण्डारबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
हालसम्म नेपालका विभिन्न जिल्लामा सुनको सम्भावित भण्डार रहेको अनुमान गरिए पनि व्यावसायिक स्तरमा सुन उत्खनन हुन सकेको छैन। नयाँ अन्वेषण कार्यबाट प्राप्त नतिजाका आधारमा भविष्यमा व्यावसायिक उत्खननको सम्भावना मूल्याङ्कन गरिने विभागले जनाएको छ।
विशेषज्ञहरूका अनुसार सुनखानीको सफल अन्वेषण तथा उत्खननले खानी क्षेत्रको विकास, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। साथै, प्राकृतिक स्रोतको दिगो उपयोगमार्फत देशको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
What's Your Reaction?





