मानव सेवादेखि व्यवसायसम्म : ज्ञानु खवासको प्रेरणादायी यात्रा
काठमाडौं । वैदेशिक रोजगारीको लामो अनुभव बटुलेर नेपाल फर्किएका एक सफल रिटर्नी हुन् ज्ञानु खवास। आफ्नो जीवनको प्रारम्भिक चरणमा नेपाली सेनामा कार्यरत खवास त्यसपछि परिवारको उज्ज्वल भविष्य र अवसरको खोजीमा अन्य धेरै नेपालीहरूझैँ खाडी मुलुक ओमान पुगेका थिए। लामो समय ओमानमा रोजगारी गरेर अनुभव हासिल गरेपछि उनी स्वदेश फर्किएर सामाजिक सेवा तथा उद्यमशीलतामा सक्रिय बनेका छन्।
दोलखा स्थायी घर भएका खवास रिटर्नी फेडेरेसन नेपालका संस्थापक सदस्य तथा हाल वैदेशिक विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन्। त्यसैगरी, उनले नेपाल आदिवासी जनजाति महासंघमा समेत केन्द्रीय तहमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सामाजिक सेवाप्रति विशेष रुचि राख्ने खवासले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धार, सहयोग तथा बेवारिसे अवस्थामा रहेका नेपालीहरूको शव स्वदेश ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। कुनै पनि नेपाली समस्यामा परेर फोन सम्पर्कमा आउनेबित्तिकै दल, धर्म, क्षेत्र वा समुदाय नभनी सम्बन्धित देशस्थित नेपाली राजदूतावास, कन्सुलेट तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्न थालिहाल्ने उनको स्वभाव छ। मानव सेवा र परोपकारी भावनाबाट प्रेरित उनी सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन् र यसैमार्फत आफ्नो छुट्टै परिचय स्थापित गरेका छन्।
दोलखाका किसानहरूसँग प्रत्यक्ष सहकार्य गर्दै स्थानीय कृषि उत्पादनलाई राजधानीसम्म पुर्याउने कार्यमा पनि उनी सक्रिय छन्। विशेषगरी दोलखालाई किवी खेतीको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ उनले यस क्षेत्रको अध्ययन, प्रवर्द्धन तथा प्रचारप्रसारमा समेत योगदान दिँदै आएका छन्।
गाउँघरका नेपाली किसानहरूले उत्पादन गरेका कृषि उपजलाई बजार उपलब्ध गराउँदै उनले किसान र उपभोक्ताबीचको महत्वपूर्ण सेतुको भूमिका निर्वाह गरिरहेका छन्। यसबाट किसानहरूले आफ्ना उत्पादनको सुनिश्चित बजार र उचित मूल्य प्राप्त गर्दै आएका छन्।
हाल उनी एजी स्टोरका सञ्चालक हुन्। भक्तपुरको हरहर महादेव–पेप्सीकोला क्षेत्रमा सञ्चालित एजी स्टोरमार्फत ग्यास, चामल, किराना सामग्री तथा दैनिक भान्सामा आवश्यक सम्पूर्ण सामग्री सहुलियत मूल्यमा बिक्री–वितरण गर्दै आएका छन्। साथै गाउँघरका किसानले उत्पादन गरेका ताजा कृषि उत्पादन खरिद गरी उपभोक्तासम्म पुर्याउने कार्यसमेत गरिरहेका छन्।
वैदेशिक रोजगारीबाट प्राप्त अनुभव, सामाजिक सेवाप्रतिको समर्पण र उद्यमशीलताको उत्कृष्ट उदाहरण बनेका ज्ञानु खवास आज धेरै रिटर्नी युवादेखि आफ्नो टोल–छिमेकसम्मका मानिसहरूका लागि प्रेरणाका स्रोत बनेका छन्। विदेशमा सिकेको अनुभवलाई स्वदेशको विकास, सामाजिक सेवा र कृषि प्रवर्द्धनमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण उनले व्यवहारमै प्रस्तुत गरेका छन्।
What's Your Reaction?





