बाढीपीडितको सहयोगार्थ रत्न तथा आभूषण महासंघको ‘एक व्यवसायी, एक हजार’ अभियानमा बागमती प्रदेशको ऐक्यबद्धता

 0  26
बाढीपीडितको सहयोगार्थ रत्न तथा आभूषण महासंघको ‘एक व्यवसायी, एक हजार’ अभियानमा बागमती प्रदेशको ऐक्यबद्धता

२३ भदौ, काठमाडौं । केही दिनअघि रसुवा एवं नुवाकोट जिल्लामा गएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सञ्चालन गरेको ‘एक व्यवसायी, एक हजार’ राहत अभियानमा सहभागी हुन रत्न तथा आभूषण महासंघ, बागमती प्रदेशले सम्पूर्ण व्यवसायीहरूमा अपिल गरेको छ।

महासंघले सञ्चालन गरेको उक्त अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेशले आफूअन्तर्गत आबद्ध संघ–संस्थाहरूमा विशेष पहल गर्ने निर्णय गरेको जनाएको छ।

२२ भदौ बेलुका बसेको जुम बैठकको निर्णयअनुसार, प्रदेशअन्तर्गत आबद्ध संघ–संस्थाका पदाधिकारी तथा सदस्यहरूले आफू आबद्ध संघहरूमा अभियानबारे जानकारी गराउँदै राहत सहयोग संकलनका लागि विशेष पहल गर्ने निर्णय गरिएको हो।

यसैगरी, बागमती प्रदेश कार्यसमितिका तर्फबाट न्यूनतम प्रतिव्यक्ति रु. ११,१११।– (अक्षरूपी एघार हजार एक सय एघार रुपैयाँ) बाढीपीडितहरूको सहयोगार्थ संकलन गरी उक्त रकम संघीय महासंघको राहत कोषमा एकमुष्ट रूपमा जम्मा गर्ने निर्णय समेत गरिएको छ।

प्रदेशले विपद्को यस कठिन समयमा सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रका सम्पूर्ण व्यवसायीहरूलाई अभियानमा जोडिन तथा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ। यो अभियान नितान्त मानवीय कार्यका साथै सुनचाँदी तथा रत्न–आभूषण क्षेत्रको सामाजिक उत्तरदायित्व र पहिचानसँग समेत जोडिएको महत्वपूर्ण विषय रहेको बागमती प्रदेशले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow