भोटेकोशी बाढीमा परेका १ हजार ४३४ जनाको शव फेला, बेपत्ताको खोजी अझै जारी
काठमाडौं, ४ असोज । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ४३४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार आज बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी १,४३४ शव फेला परेका हुन्। यसैगरी बाढीमा बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
What's Your Reaction?





