जापान ज्वेलरी फेयर २०२६ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिता, जापान ज्वेलरी एसोसिएसनसँग सहकार्यबारे छलफल
टोकियो, जापान — २०८३ भदौ ११|नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष श्री किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीहरूको प्रतिनिधिमण्डलले जापान ज्वेलरी फेयर (JJF) २०२६ मा सहभागिता जनाएको छ।
जापान ज्वेलरी फेयरमा सहभागिताका क्रममा महासंघका अध्यक्ष श्री किसान सुनारसहित नेपाली प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन (JJA) तथा ज्वेलरी फेयर आयोजक संस्थाका उच्च पदाधिकारीहरूसँग सौहार्दपूर्ण एवं फलदायी भेटघाट तथा छलफल गरेको छ।
भेटघाटमा जापान ज्वेलरी एसोसिएसनका अध्यक्ष श्री केइता नागाहोरी, कार्यकारी निर्देशक श्री योशिहितो सुकामोटो, इन्फोर्मा मार्केट्स जापानका प्रमुख कार्यकारी अधिकृत श्री जेम्स सोबाक, उपाध्यक्ष श्री नोबुआकी निटो तथा ज्वेलरी फेयरकी प्रोजेक्ट इभेन्ट म्यानेजर सुश्री हिरोमी साकुराई लगायतको सहभागिता रहेको थियो।
छलफलका क्रममा नेपाल र जापानका सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रबीचको आपसी सहकार्य र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचार आदानप्रदान भएको थियो। विशेषगरी व्यवसायी–व्यवसायीबीचको B२B सहकार्य, व्यापार प्रवर्द्धन, ज्ञान तथा प्रविधि आदानप्रदान, बजार पहुँच विस्तार, आधुनिक डिजाइन तथा परम्परागत आभूषण निर्माण सीपको विकास लगायतका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी, अन्तर्राष्ट्रिय ज्वेलरी प्रदर्शनी तथा मेलामा नेपाल र जापानका व्यवसायीहरूको आपसी सहभागिता बढाउने तथा Business Matching कार्यक्रममार्फत व्यावसायिक अवसर विस्तार गर्ने विषयमा समेत सकारात्मक छलफल भएको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष श्री किसान सुनारले नेपालमा रहेका परम्परागत तथा मौलिक आभूषण कला, दक्ष कालिगढ तथा सुनचाँदी, रत्न एवं आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा रहेको सम्भावनाबारे जापानी पक्षलाई जानकारी गराउनुभएको थियो। उहाँले नेपाली आभूषणलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै जापानलगायत विभिन्न मुलुकका सम्बन्धित संस्था तथा व्यवसायीसँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो।
जापान ज्वेलरी एसोसिएसन तथा ज्वेलरी फेयर आयोजक पक्षले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै जापान ज्वेलरी फेयरमा नेपालको सहभागिताप्रति खुसी व्यक्त गरेको थियो।
दुवै पक्षले आगामी दिनमा निरन्तर संवाद, संस्थागत सहकार्य तथा व्यावसायिक सम्बन्ध विस्तार गर्दै संयुक्त पहल, Business Matching, ज्ञान तथा अनुभव आदानप्रदान र नेपाल तथा जापानमा आयोजना हुने ज्वेलरीसम्बन्धी प्रदर्शनी तथा मेलामा आपसी सहभागिता बढाउने विषयमा सकारात्मक छलफल गरेका छन्।
टोकियोमा अगस्ट २६ देखि सुरु भएको जापान ज्वेलरी फेयर २०२६ अगस्ट २८, २०२६ सम्म सञ्चालन हुनेछ। महासंघको सहभागितालाई नेपाली सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र जापानी ज्वेलरी उद्योगसँग व्यावसायिक सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
What's Your Reaction?





