३ करोड बराबरको सुनचाँदी र भारतीय रुपैयाँसहित कपडा व्यवसायी पक्राउ
सुर्खेत, २० जेठ ०८३
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिमाणको सुनचाँदी, नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज घर भएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल रहेका छन्।
प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–६, तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद कारोबार गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको थियो। सोही सूचनापछि प्रहरीले उक्त पसलमा चेकजाँच तथा खानतलासी गरेको हो।
खानतलासीका क्रममा पसलबाट नेपाली रुपैयाँ २ लाख १९ हजार, भारतीय रुपैयाँ ८ लाख ११ हजार र करिब ३ करोड रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमध्ये डब्बामा राखिएका १८५ थान सुनचाँदीका गरगहना रहेको बताइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पसलबाट गरगहना तथा भारतीय रुपैयाँ धितो राखेर ब्याजमा रकम दिने गतिविधि भइरहेको आशंका गरेको छ। सोही आधारमा अग्रवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।
बरामद रकम, भारतीय रुपैयाँ र सुनचाँदीका सामग्रीको स्रोत, कारोबारको प्रकृति तथा कानुनी वैधताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अग्रवालमाथि अवैध वित्तीय कारोबार, स्रोत नखुलेको सम्पत्ति तथा सुनचाँदी कारोबारसम्बन्धी कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइने बताइएको छ।
घटनापछि सुर्खेतको व्यवसायिक क्षेत्रमा समेत चासो बढेको छ। प्रहरीले यस्ता गतिविधिबारे थप सूचना संकलन गरिरहेको र आवश्यक परे अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाइने जनाएको छ।
What's Your Reaction?





