सुनको सिक्री र औँठी लुट्नकै लागिआफ्नै साथीलाई जङ्गलमा पुर्याएर विभत्स हत्या
०१ श्रावन ,लम्जुङ्ग | लमजुङको बेसीशहरमा ५७ वर्षीय बुद्धि बहादुर बोहराको हत्या गरी गहना लुट्ने उनकै साथी ३० वर्षीय विजय लामिछाने र लुटिएको सुन खरिद गर्ने चितवनका व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यलयय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्र बहादुर थापाका अनुसार बेसीशहर नगरपालिका वडा नं-८ तामाडोटोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा गत असार २१ गते बिहानदेखि घरबाट निस्किएर सम्पर्कविहीन भएका थिए।
उनी लामो समय सम्पर्कमा नआएपछि उनकी श्रीमती बाल कुमारी बोहराले असार २३ गते खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा हुलियासहितको निवेदन दिएकी थिइन्।
श्रीमतीको निवेदन दर्ता भएपछि खोजी सुरु गरेको प्रहरीले असार २५ गते बिहान अन्दाजी ९:०० बजे बेसीशहर नगरपालिका वडा नं-१ स्थित आकासेडाँडा माथि रहेको भिरपानी सामुदायिक वनमा बोहराको शव फेला पारेको थियो।
शवको अनुहार र शरीरको भाग पूर्ण रूपमा सडिगलेको शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटना सार्वजनिक हुनासाथ तत्काल प्रहरी निरीक्षकको कमान्डमा ‘सोको’ प्राविधिकसहितको प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा, जाँच र शवजाँच गरेको थियो। अनुसन्धानका क्रममा मृतकका परिवार र आफन्तसँग सोधपुछ गर्दा बोहराले सधैँ घाँटीमा सुनको सिक्री र हातमा सुनको औँठी लगाउने गरेको जानकारी प्रहरीलाई प्राप्त भयो। तर, शव र घटनास्थल कतै पनि उक्त सुनको सिक्री र औँठी फेला नपरेपछि अनुसन्धानको सुई लुटपाट र हत्यातर्फ मोडिएको थियो।
घटनाको गाम्भीर्यता हेर्दै जिल्ला प्रहरी कार्यालय लमजुङको अनुसन्धान टोलीले तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट आएको प्राविधिक टोलीको सहयोगमा खोजी तीव्र बनाएको थियो।
विभिन्न चोक र सडकमा रहेका सिसीटिभी फुटेज र प्राविधिक विश्लेषणका क्रममा बोहरा बेपत्ता भएको दिन असार २१ गते लमजुङ दोर्दी गाउँपालिका वडा नं-१ ढोकेका ३० वर्षीय विजय लामिछाने मृतक बोहरासँगै हिँडिरहेको देखिए।
शङ्कास्पद अवस्थामा देखिएका लामिछानेलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले सुन लुट्ने उद्देश्यले बुद्धि बहादुर बोहरालाई भिरपानी वनमा पुर्याएर काठको दाउराले टाउको र शरीरमा प्रहार गरी हत्या गरेको स्विकारे। हत्यापछि बोहराले लगाएको सुनको सिक्री र हातको औँठी लुटेर उनी सोही राति चितवन फरार भएका थिए।
प्रहरी समक्ष बयान दिँदै लामिछानेले असार २२ गते चितवनको भरतपुर महानगरपालिका वडा नं-२१ पार्वतीपुरस्थित मौलाकालिका सुन चाँदी पसलमा लगी लुटिएको गहना बिक्री गरेको खुलाए।
उनले पसलका सञ्चालक ४३ वर्षीय दिपक विश्वकर्मालाई उक्त सुन बुझाएर तत्काल ४४ हजार रुपैयाँ नगद लिएका थिए भने बाँकी ६ लाख रुपैयाँ पछि लिने गरी सम्झौता गरेका थिए।
लामिछानेको बयानपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले स्थानीय चितवन प्रहरीको सहयोगमा पार्वतीपुरस्थित उक्त सुन पसलमा छापा मारेको थियो।
खानतलासीका क्रममा प्रहरीले चोरीको सुनको सिक्री र औँठी बरामद गरी पसल सञ्चालक दिपक विश्वकर्मालाई असार ३० गते पक्राउ गर्यो।
प्रहरीले घटनास्थलबाट अभियुक्त विजय लामिछानेले हत्यामा प्रयोग गरेको काठको दाउरा समेत फेला पारी बरामद गरेको छ। पक्राउ परेका मुख्य अभियुक्त विजय लामिछाने र सुन खरिद गर्ने दिपक विश्वकर्मालाई कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको लमजुङ प्रहरी निरीक्षक नेत्र बहादुर थापाले जानकारी दिए।
What's Your Reaction?





