तीजका व्रतालुले बिहान ३ बजेदेखि पशुपतिनाथको दर्शन गर्न पाउने
काठमाडौं, २८ भदौ । हरितालिका तीजका अवसरमा व्रतालुहरूलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउन भोलि सोमबार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै दर्शनार्थीहरूलाई छिटो र सहज ढंगले दर्शन गराउन मन्दिरका उत्तर, पूर्व र दक्षिणतर्फका ढोकामा पारदर्शी जाली राखिने, परिसर बाहिर पाँचवटा र भित्र आठवटा लाइनको व्यवस्था गरिने, जसबाट एकपटकमा आठ जनाले सहजै दर्शन गर्न सक्ने जानकारी दिएको छ ।
महिलाहरूको विशेष पर्व भएकाले निश्चित कोर क्षेत्रभित्र पुरुषहरूको प्रवेशमा रोक लगाइनेछ भने नियमित पुरुष दर्शनार्थीहरूले बिहान ५:३० बजेभित्रै दर्शन गरिसक्नु पर्नेछ।
भीडभाडलाई व्यवस्थित बनाउन विभिन्न दिशाबाट आउने भक्तजनका लागि मित्रपार्क-उमाकुण्ड, गौशाला-जयबागेश्वरी, सिनामंगल-तिलगंगा र पिंगलास्थानतर्फबाट आउने दर्शनार्थीहरूलाई विभिन्न अस्थायी आकाशे पुल तथा र्याम्प प्रयोग गरी मन्दिर परिसर प्रवेश गराइने कोषको तयारी छ।
यस वर्ष पनि विगतझैं कुनै पनि प्रकारको विशेष पूजा तथा विशेष दर्शन पासको व्यवस्था नगरिएको कोषले स्पष्ट पारेको छ।
What's Your Reaction?





