जनतामा फेरि नेपाली कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ : प्रचण्ड
काठमाडौं, २ असोज । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैँ तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्ष दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको उल्लेख गर्दै उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रने तयारी भइरहेको जानकारी दिएका हुन् ।
अहिलेको सरकारले नागिरकका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै प्रचण्डले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेडाप्रति आकर्षण बढ्दै गएको जिकिर समेत गरे ।
“हामी मधेस, बाग्मती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरि नेपाली कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ, हामी सबै आआफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउन सक्ने अवस्था छ । हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ । जुन भ्रम थियो, त्यो च्यातिँदै छ र, एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ” उनले भने ।
What's Your Reaction?





