थिमिका वीरेन्द्रभक्तले यस वर्ष पनि जिब्रो छेड्ने
भक्तपुर, २ असोज । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । ३९ वर्षीय श्रेष्ठले यही असोज १० गते शनिबार येँया पुन्हिस्का दिन पाँचौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएका हुन् ।
विगतमा जात्रा नियमित हुन नसकेपछि वि.सं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुन जात्रा सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् ।
भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनस् बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।
किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।
What's Your Reaction?





