सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री आएनन् भन्ने प्रश्नमा सभापति लामिछानेले भने : वहाँहरुले आफ्नो काम गरिरहनु भएकै छ
काठमाडौं, १३ साउन । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा दलको बैठक भएका कारण प्रधानमन्त्री र गृहमन्त्री उपस्थिति नभएको प्रस्टीकरण दिएका छन् ।
सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले आफूले गर्नुपर्ने काम गरिरहेको बताउँदै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको जानकारी दिएका हुन् । सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति लामिछानले आह्वान गरेको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने विषयमा छलफल गरिनुका साथै विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिइएको थियो ।
उनले देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको जानकारी दिए।
बैठकमा सहभागी विपक्षी दलका नेताले सरकारको आलोचना गर्दा लामिछानेले सरकार पनि आफ्ना तर्फबाट क्रियाशील रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका थिए।
‘प्रधानमन्त्रीले आफ्नो भावना, आफ्नो धारणा, प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफ्नो गर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ’, उनले भने,‘हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन।’ अहिले एक अर्कालाई आरोप लगाउने बेला नरहेको बताउँदै उनले शान्ति सुव्यवस्था कायम गर्ने सबैको दायित्व रहेको बताए।
What's Your Reaction?





