मनसुन पूर्वतयारीबारे जानकारी लिन मौसम विभाग पुगे ऊर्जा मन्त्री श्रेष्ठ
२४ बैशाख |काठमाडौं । मनसुन सुरु हुने समय नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुग्नुभएको छ ।
विभागको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे मौसम पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक र अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो ।
त्यस अवसरमा चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका योजनाबारे पनि छलफल गरिएको थियो । मन्त्री श्रेष्ठले विभागलाई आगामी दिनमा थप प्रविधिमैत्री बनाउँदै हाल रहेको तीनदिने मौसम पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताउनुभयो ।
उहाँले मनसुन नजिकिँदै गएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म सहज रूपमा पुग्ने बनाउन निर्देशन दिनुभयो । साथै मौसमसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि विभागलाई सक्षम अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यहाँबाट प्राप्त सूचना तथा तथ्यांक सरकारी निकाय र अन्य सेवाप्रदायक संस्थाले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक तथा कर्मचारीहरूको कार्यप्रति धन्यवाद व्यक्त गर्दै कर्मचारीको मनोबल बढाउन प्रोत्साहनका कार्यक्रम ल्याइने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी तथा विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली तथा बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।
What's Your Reaction?





