सलाम सजिना !
२४ बैशाख | काठमाडौं — काठमाडौंको इन्द्रचोकस्थित नैना एण्ड ईशान ज्वेलर्समा कार्यरत कर्मचारी श्री सजिना शाक्यलाई आफ्नो ज्यानको पर्वाह नगरी देखाएको साहसिक प्रतिकारको कदर गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौंले सम्मान गरेको छ।
संघका अध्यक्ष रोहिना देवी शाक्यले आयोजित एक विशेष कार्यक्रमबीच सजिना शाक्यलाई सम्मान प्रदान गर्दै उहाँको साहस, सतर्कता र कर्तव्यनिष्ठाको खुलेर प्रशंसा गर्नुभयो।
केही दिनअघि हतियारसहित आएका लुटेराहरूले उक्त पसलमा लुटपाट गर्ने प्रयास गरेका थिए। सो क्रममा सजिना शाक्यले असाधारण साहस प्रदर्शन गर्दै लुटेराहरूको प्रतिकार गर्नुभएको थियो। उहाँको तत्परता र साहसिक कदमका कारण पसलमा हुन सक्ने ठूलो क्षति टरेको मात्र नभई लुटपाटको प्रयाससमेत असफल भएको थियो।
घटनापछि व्यवसायी तथा स्थानीय समुदायले सजिना शाक्यको साहसिक भूमिकाको उच्च प्रशंसा गरेका छन्। संघले पनि यस्तो साहसिक कार्यले सम्पूर्ण व्यवसायी समुदायलाई प्रेरणा दिएको उल्लेख गर्दै उहाँप्रति सम्मान व्यक्त गरेको हो।
कार्यक्रममा उपस्थित व्यवसायीहरूले सुरक्षा चुनौतीका बीच पनि सजिनाले देखाएको साहस उदाहरणीय रहेको बताएका थिए। उनीहरूले यस्ता कर्मठ र जिम्मेवार व्यक्तित्वको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।
What's Your Reaction?





