कला व्यवसायी संघको निर्वाचन आजै हुँदै, अध्यक्ष र महासचिव पदमा कडा प्रतिस्पर्धा

 0  8
कला व्यवसायी संघको निर्वाचन आजै हुँदै, अध्यक्ष र महासचिव पदमा कडा प्रतिस्पर्धा

२३ जेठ, काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा भर्खरै सम्पन्न भएको छ। साधारण सभा सम्पन्न भएसँगै अब केही बेरमै निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।

प्राप्त जानकारीअनुसार अन्य अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि अध्यक्ष, द्वितीय उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन हुने भएको छ। हाल होटल र्‍याडिसनमा निर्वाचन प्रक्रिया सञ्चालनका लागि अन्तिम तयारी भइरहेको बताइएको छ।

अध्यक्ष पदका दुवै प्रत्याशी विष्णु भक्त बराइली र बालकुमार विश्वकर्मा ‘सुमन’ उपत्यकाभित्रकै भएकाले उपत्यकाभित्रका मत दुई पक्षबीच बाँडिने अनुमान गरिएको छ। त्यसैले निर्णायक मत उपत्यकाबाहिरका मतदाताको हुन सक्ने जानकारहरू बताउँछन्। यही कारण निर्वाचन परिणाम कस्तो आउँछ भन्ने विषय अहिले नै अनुमान गर्न कठिन रहेको बताइएको छ।

त्यसैगरी, महासचिव पदमा सूर्य बराल र प्रेम लकन्द्रीबीच प्रतिस्पर्धा हुँदैछ। उपत्यकाभित्रका मतदातामाझ सूर्य बराल अगाडि रहेको विश्लेषण गरिए पनि उपत्यकाबाहिरका मतदाताको संख्या उल्लेख्य रहेकाले प्रेम लकन्द्रीले पनि कडा टक्कर दिने बताइएको छ।

संघमा करिब ६८५ मतदाता रहेको बताइएको छ। उपत्यकाभित्रका मतदातासँगै उपत्यकाबाहिरका मतदाताको उपस्थितिले यस निर्वाचनको अन्तिम परिणाममा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

अध्यक्ष, द्वितीय उपाध्यक्ष र महासचिव पदमा हुने प्रतिस्पर्धाका कारण यसपटकको अधिवेशनलाई व्यवसायीहरूले विशेष चासोका साथ हेरिरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow