अब लट्री टिकटमार्फत सरकारले दैनिक रूपमा नेपालीलाई लखपति बनाउने
१८ जेठ, काठमाडौं। सरकारले भ्याट बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्न नयाँ योजना अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब हरेक मूल्य अभिवृद्धि कर अर्थात् भ्याट बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने व्यवस्था ल्याउन लागिएको जानकारी दिएका छन्।
बजेटपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा बिल लिने बानी विकास गराउन सरकारले लट्री कार्यक्रम सञ्चालन गर्न लागेको बताए। उनका अनुसार उपभोक्ताले लिएको प्रत्येक भ्याट बिल लट्री प्रणालीमा समावेश हुनेछ। सोही प्रणालीमार्फत दैनिक रूपमा सर्वसाधारणमध्ये विजेता छनोट गरी लखपति बनाइनेछ।
अर्थमन्त्री वाग्लेले नेपालजस्तो विकासोन्मुख मुलुकमा आयकरबाट मात्रै ठूलो मात्रामा राजस्व संकलन गर्न कठिन हुने भएकाले उपभोगमा आधारित कर प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए। बिल लिने–दिने अभ्यास बढेमा कर चुहावट घट्ने, कारोबार पारदर्शी हुने र राज्यको राजस्व संकलनमा सहयोग पुग्ने उनको भनाइ छ।
उनले सरकारले मध्यम वर्गमाथि अत्यधिक करको भार नथोपरेको दाबी पनि गरे। वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिका लागि आयकर दर एक प्रतिशत मात्र कायम गरिएको जानकारी दिँदै उनले कर प्रणालीलाई व्यावहारिक र नागरिकमैत्री बनाउने प्रयास भइरहेको बताए।
सरकारको यो योजनाले बजारमा बिल लिने प्रवृत्ति बढाउने, कर प्रणालीमा सर्वसाधारणको सहभागिता वृद्धि गर्ने र राजस्व संकलनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
What's Your Reaction?





