पालमा डिजिटल पूर्वाधार र दूरसञ्चार सहकार्य बढाउन अमेरिका सकारात्मक
काठमाडौँ, १९ जेठ २०८३।
नेपालको सूचना प्रविधि, दूरसञ्चार तथा डिजिटल पूर्वाधार विकासमा सहकार्य विस्तार गर्न संयुक्त राज्य अमेरिका इच्छुक देखिएको छ। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री साराह बी रोजर्सले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग सोमवार भएको भेटमा अमेरिकाले नेपालको डिजिटल क्षेत्रको विकासमा साथ दिन चाहेको बताएकी हुन्।
मन्त्री तिमिल्सिनाको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धसँगै सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा, लगानी विस्तार र प्रविधिमैत्री वातावरण निर्माणका विषयमा छलफल भएको थियो। रोजर्सले नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना उच्च रहेको उल्लेख गर्दै यस क्षेत्रमा अमेरिकी सरकार तथा अमेरिकी कम्पनीहरू सहकार्य गर्न इच्छुक रहेको बताएकी थिइन्।
भेटका क्रममा अमेरिकी कम्पनीहरूले नेपालको प्रविधि र दूरसञ्चार क्षेत्रमा लगानी विस्तार गर्न चाहेको विषयसमेत उठाइएको थियो। त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, पारदर्शी प्रक्रिया र आवश्यक सहजीकरण महत्वपूर्ण हुने रोजर्सको भनाइ थियो।
उनले सूचना प्रविधि क्षेत्र विश्व अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताउँदै नेपालले पनि डिजिटल सेवा, साइबर सुरक्षा, इन्टरनेट पहुँच, डाटा व्यवस्थापन तथा प्रविधि व्यवसायको विकासमा थप ध्यान दिनुपर्ने धारणा राखेकी थिइन्।
मन्त्री डा. तिमिल्सिनाले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्दै दूरसञ्चार विस्तार, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच, डिजिटल सेवा प्रवाह र साइबर सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका थिए। उनले नेपालको प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी, लगानी र ज्ञान हस्तान्तरण आवश्यक रहेको पनि उल्लेख गरे।
मन्त्रालयका अनुसार भेटमा दुवै पक्षले प्रविधिको सुरक्षित र समावेशी प्रयोगमार्फत जनताको सेवा, शिक्षा, स्वास्थ्य, व्यवसाय र सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने विषयमा समान धारणा व्यक्त गरेका थिए।
नेपालमा सूचना प्रविधि क्षेत्र पछिल्लो समय तीव्र रूपमा विस्तार हुँदै गएको छ। डिजिटल कारोबार, अनलाइन सेवा, ई–गभर्नेन्स, क्लाउड प्रविधि, साइबर सुरक्षा र दूरसञ्चार पूर्वाधारमा लगानी बढाउन सके नेपालले आर्थिक विकासमा नयाँ सम्भावना खोल्न सक्ने विज्ञहरूको बुझाइ छ।
अमेरिकी उपविदेशमन्त्री रोजर्स र मन्त्री तिमिल्सिनाबीचको भेटलाई नेपाल–अमेरिका सम्बन्धमा प्रविधि तथा डिजिटल सहकार्यलाई थप बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।
What's Your Reaction?





