जेनजी पुस्ता र नेकपा एमालेबीचको खास द्वन्द  के हो ?

 0  65
जेनजी पुस्ता र नेकपा एमालेबीचको खास द्वन्द  के हो ?

हेम राई

नेकपा एमालेका जननेता मदन भण्डारी एक समय भन्ने गर्दथे, सिद्धान्त-सिद्धान्तको लागि होइन,जीवनको लागि हो । अर्थात जति नै सुन्दर र असल विचार नै किन नहोस् यदि यो जनताको दैनिकी सँग जोडिन सकेन भने यो व्यर्थ हुन जान्छ । 

मदन भण्डारीको यो भनाई पुनः एकचोटी नेपाली समाजमा सार्थक बनेको छ । पार्टीको विधान, चुनावी घोषणापत्रहरु जति नै सुनौलो अक्षरले लेखिएता पनि व्यवहारमा राजनैतिक पार्टीको नेताहरुको दैनिकी कहिले नेपाली जनताको इच्छा, चाहना र सोचाईसँग मेल खाएँन । उदेक लाग्दो कुरा त के छ भने नेकपा एमालेले तामझामका साथ ललितपुरको गोदावरीमा विधान अधिवेशन मार्फत आउदो ०८४ मा एक्लो बहुमतको सरकार बन्ने उद्घोष गरेको ८४ घण्टा नबित्दै सिंगो मुलुक तहस नहस बन्यो, देशको भौतिक संरचनाहरु ध्वस्त भए भने पार्टीका अध्यक्ष निवर्तमान सरकारका प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटारबाट ज्यान बचाउन भाग्नु पर्ने अवस्था सृजना भयो । अन्य कुराको त लेखाजोखा नै भएन, ०८४ सालको आम निर्वाचनमा एकल बहुमत लाउने योजनाका साथ अगाडी बढेको पार्टीले आफ्नो अगाडी आउने ८४ घण्टालाई पनि किन देख्न सकेन रु वर्तमान परिपेक्ष्यमा राजनैतिक पार्टी नेकपा एमाले र जेनजी पुस्ताको यो द्वन्दबीचको विश्लेषण गरौ । 

को हुन् जेनजी पुस्ता ?

यो जेनजी पुस्ताले जहानिया राणा शासनविरुद्धको क्रान्ति, पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष, पछिल्लो पटक भएको माओवादी जनयुद्ध, ०६२/०६३ सालको राजतन्त्र विरुद्धको आन्दोलनप्रति कुनै मतलब राख्दैन । माक्सवाद, लेनिनवाद जनताको बहुदलिय जनवाद एवम् विभिन्न वाद एवम् दर्शनहरुका सबै कुरा यी पुस्तालाई वाहियात लाग्दछन् । यति भएपछि यी विषयहरू उनीहरुको अध्ययन र चासोको विषयवस्तु नै बनेनन् । 

जेनजी पुस्ताले जीवन र समाजलाई साधरण भाषामा बुझ्ने अनि हेर्ने गर्दछन् । विगतका योगदान, सिद्धान्त, विचारभन्दा व्यक्तिको दैनिक आचरण र कार्यशैली हेरी आफ्नो सोच अनि विचारको निर्माण गर्ने गर्दछन् । लोकतन्त्रका नाममा भएको लुटतन्त्रप्रति यो पुस्ता पूर्णरुपमा जानकार रहेका छन् । कुनै पनि नेताको सन्तान र आफूबीच भएको आर्थिक असमानताले उनीहरुलाई आगो ओकल्ने अवस्थामा पुर्याएको छ ।

हिजोसम्म भाडाको कोठामा गुजारा चलाउने यी लोकतन्त्रमा उम्रेका नेता अनि उसका सन्तानहरु आज कसरी यतिका विलासी जीवन बिताउदै छन् ? यो कुराले सिंगो दल एवम् दलका नेताहरुप्रति यो पुस्ता एकदमै निर्दयी रुपमा प्रस्तुत हुदैछन् । जसरी पनि सत्तामा टिकिरहने र आफ्ना सन्तान दरसन्तान एवम् आफू निकटकालाई मात्रै सेवा सुविधाको सदैव भागिदार बनाउने वर्तमान राजनैतिक दलहरु एवम् यसका नेतृत्वकर्ताहरु प्रति उनीहरूको मष्तिस्कमा पैदा भएको घृणा, जुन जेनजी आन्दोलनको रुपमा बाहिर निक्लियो।  

यो पुस्ताले राजनीतिक पार्टीलाई कुनै पनि वैचारिक र सैद्धान्तिक दृष्टिकोणबाट हेर्दैनन् । उनीहरूका लागि राजनीति भनेको केवल सुशासनको माध्यम हो, राजनैतिक दल राज्य र सरकारले जनतालाई सेवा सुविधा अनि सुशासन दिन सक्नुपर्छ। जेनजी पुस्ताको राजनीतिप्रतिको सामान्य बुझाई केवल यत्ति मात्रै हो।

अहिले सत्तामा रहेका दलहरु लाजसरम पचाएर आलोपालो सत्ताको मिति तोकी कुर्सीको भागबण्डा गर्दै कसरी भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् रु यिनीहरुले राम्रोसँग हिसाब किताब राखेका छन् । इन्टरनेट र सामाजिक सञ्जाल एवम् हातहातमा भएको स्मार्ट फोनेले गर्दा प्रत्येक घटना र खबरप्रति यो पुस्ता तुरुन्त र पूर्ण रुपमा जानकार रहेको छ । अहिले इन्टरनेटले विश्वलाई प्रत्येकको हातहातमा ल्याई पुर्याएको छ । 

विश्वका कुनै पनि मुलुकका राजनेता, सफल व्यक्ति, सामाजिक अभियन्ता आदि यिनीहरुका प्रेरणाका स्रोत हुन् । यिनीहरुबाट नै यो जेनजी पुस्ता प्रभावित रहेको पाईन्छ । विश्वका कुनै पनि परिवर्तन, समाचार, घटनाप्रति पूर्ण रुपमा जानकारी राख्ने हुँदा यो पुस्तालाई जालझेल एवम् झुक्याउन सजिलो छैन। 

सामान्य रुपमा बुझ्ने हो भने बाजे पुस्ता र यी नाति पुस्ताको बीचमा कसरी यतिका मत भिन्नता आयो रु यी २ पुस्ता बीच बुझाईमा कसरी यतिका असमानताको खाडल बन्यो त रु यसको बारेमा छोटो विवेचना गरौ (नाति पुस्ता आफ्नो सूचनाको स्रोत एवम् जानकारीका लागि दैनिक पत्रपत्रिका, रेडियो, टिभीमा निर्भर छैन अर्थात घण्टौ टेलिभिजन, पत्रपत्रिका हेर्ने कार्य उनीहरुका लागि झन्झटिलो विषय हो । त्यसैले राजनैतिक दलहरुबाट प्रायोजित योजनाबद्ध सूचनाहरुबाट मुक्त छन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि यस्ता पत्रपत्रिका, टेलिभिजन यिनै भ्रष्ट नेताहरुद्वारा संचालित हुन्छन् र केहि अपवाद बाहेक यिनै भ्रष्ट नेताहरुको बार्गेनिंगका लागि हो । 

त्यसैले यो पुस्ताको सूचना एवम् जानकारीको स्रोत भनेको मुख्य रुपमा सामाजिक सञ्जाल नै हो । सामाजिक संजालमा आएको घटना अनि समाचारबाट नै यो पुस्ताले आफ्नो विचारको निर्माण गर्ने गर्दछ, जसलाई राज्यले अन्य स्रोत पत्रपत्रिका, रेडियो वा टेलिभिजनलाई जस्तै नियन्त्रण गर्न सम्भव हुँदैन। राजनीतिक नेतृत्वले नरुचाएको र प्रवाह गर्न नचाहेको समाचार पनि सामाजिक सञ्जालमा सहज रुपमा प्रसारण भइरहेको हुन्छ भन्नेबारे यो पुस्तालाइ राम्रो जानकारी छ। जसलाई सरकारले नियन्त्रण गर्न खोज्दाको परिणाम के भयो रु हामी सबैको अगाडी छर्लंग नै छ ।

नेपाली समाजमा पुस्तान्तरण कै कुरा गर्ने हो भने जेनजी पुस्तालाई चौथो तहमा राखी हेर्न सकिन्छ भने नेपालको राजनीति एवम् सत्ताको बागडोर हजुरबुवा पुस्तामा नै अड्केको छ । यसमा बुवा पुस्ता र छोरा पुस्ता भने स्वयंम भाग्य, समय अनि वर्तमान अवस्थालाई मनमनै सराप्दै चुपचाप बसी रहेको अवस्थामा यो नाती पुस्ताले एक किसिमको सांस्कृतिक जिहाद नै छेडेका छन् । उनीहरुको बुझाईमा राजनीति केवल समाजसेवाको माध्यम मात्रै हुनु पर्दछ र यसको निश्चित समय अनि मापदण्ड हुने गर्दछ । 

उदाहरणका लागि सन १९९६ ताका अमेरिकामा राष्ट्रपति थिए बिल क्लिन्टन,  बेलायतमा प्रधानमन्त्री जोन मेजर, चीनमा जियाङ जेमिन, भारतमा पिभी नरसिंह राव र नेपालमा थिए प्रधानमन्त्री शेरबहादुर देउवा । यो समय भनेको करिब २९(३० वर्ष अगाडिको हो । तर, विश्व मानचित्रमा उदाएका यी नेताहरु सत्ता र राजनीतिबाट बिलय भई सकेको आजको अवस्था हो । यिनीहरुमध्ये कति त मरी नै सके, तर यतिका वर्षपछि पनि नेपाली सत्ताका केन्द्रबिन्दुमा यिनै समयका समकालीन शेरबहादुर, झलनाथ खनाल, केपी ओली, माधव नेपाललगायतको हालीमुहाली रहदै आएको छ । सता र कुर्सी छाड्ने त कुरै छाडौ भावी दिनमा पनि कसरी आफ्नो कुर्सी सुनिश्चित गर्ने भनि अग्रिम भागबण्डा नै गर्न भ्याए उनीहरुले । 

यदि राज्य सत्तामा सहि मान्छे पुग्ने हो भने देश कहाबाट कहा पुग्छ भन्ने उदाहरण यी केहि देशहरुलाई हेर्दा मात्रै पुग्छ । जस्तो मलेसिया, दक्षिण कोरियाको चमत्कारिक विकास केवल २५ वर्षभित्रै भएको हो। सिंगापुरले पनि करिब २५ वर्ष भित्र नै आफूलाई कहाबाट कहा ल्याई पुर्यायो । 

अहिलेको बाजे पुस्ताले के कति देश विकास गर्‍यो, त्यो घाम जस्तै छर्लङ्ग नै छ। सन् १९९० मा नेपालभन्दा गरिब देश बङ्गलादेश अहिले भारतलाई उछिन्ने अवस्थामा पुगेको छ। तर, नेपाल अहिले दक्षिण एसियामा अफगानिस्तानपछि सबै भन्दा गरिब देश बनेको छ। अर्थात मुलुक अगाडी होइन पछाडी तर्फ धकेलिदैछ, उकालो होइन ओरालोतर्फ लाग्दैछ, यसको लेखाजोखा जेनजी पुस्ताले राम्रोसँग राखेका छन् । अहिलेको युवा पुस्ता यो वास्तविकताबाट बेखबर छैन। दशकौँ देखि भोगिआएको यो असफल नेतृत्वप्रति युवा पुस्तामा चरम वितृष्णा छ।  

देशको संविधानका धाराहरूमा अनेकौँ अधिकारको कुराहरू लेखिएका होलान् तर, आम मानिसले राज्यप्रति बनाउने दृष्टिकोण भने सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा सुविधा, निजामति कर्मचारीहरुको व्यवहार, प्रहरी प्रशासनको कार्यशैली, भन्सार, कर कार्यालय, यातायात, मालपोत आदिबाट डेलिभर हुने कार्यशैलीप्रति निर्भर रहेको हुन्छ । देशका युवाहरु रोजगारको कुनै अवसर नदेखेर वैदेशिक रोजगारमा जान बाध्य बनेका छन्, जसका लागि पनि सहज वातावरण छैन्, पाइला पिच्छे घुस खुवाउनु पर्ने अनि हण्डर खानु पर्ने अवस्था छ । नेपालका प्रमुख राजनीतिक दलहरूमा यो अवस्था बदल्ने कुनै तत्परता र चाहना नै रहेको देखिदैन भन्दा पनि हुन्छ । त्यसैले ( नेताको छोरा छोरी गाडीमा १ जनताको छोरा छोरी खाडीमा भनि आन्दोलनमा नारा लगाएका हुन् ।

यसो झट्ट हेर्दा यो जेनजी आन्दोलन एक्कासी रुपमा विस्फोट भएको देखिन्छ । तर, यो वास्तविकता भने होइन । यसको पृष्ठभूमि लामो समयदेखि विस्तारै तयार हुदै आई रहेको थियो । यसलाई पुष्टि गर्न पुनः एक चोटी जेनजी आन्दोलनमा लागेका नाराको सहायता लिउ, उनीहरुको नारा थियो(न्यखभचलmभलत एगत इाा  इलष्लिभ १ क्य, ध्भ ब्चभ ऋयmष्लन इााष्लिभ । अर्थात सरकारले सम्पूर्ण अनलाइन सामाजिक संजाल बन्द गरे अब हामी सिधै सडकमा आउदै छौ ।

योभन्दा अगाडी यी पुस्ताहरु आफ्नो सुख, दुःख, विरोध सामाजिक संजालका माध्यमबाट पोख्दै आएका थिए। जब एक्कासी सामाजिक संजालप्रति सरकारले प्रतिबन्ध लगायो अनि उनीहरु सडकमा आउँन बाध्य भए । उनीहरुको बुझाइमा विभिन्न बहाना बनाइ सरकार उनीहरुको विरोधको आवाज बन्द गर्न चाहन्छ भन्ने रहेको छ, जुन कुरा सरकारको क्रियाकलापले पनि क्रमशः पुष्टि गर्दै लागेको छ । 

अबको निकास के त ?

वर्तमान नेपालको राजनीति र सत्ता मुख्य रुपमा ३ वटा पार्टीहरु (नेपाली कांग्रेस, नेकपा एमाले अनि माओवादी केन्द्र) बीच घुमी रहेको छ । सन् २०१५ देखि अहिले सन् २०२५ सम्म करिब १० वर्ष पालै पालो यस दलका नेताहरु शेर बहादुर देउवा, केपी ओली र प्रचण्ड प्रधानमन्त्री बने र अझ आउने दिनका लागि पनि कुर्सीको भागबण्डा गर्न भ्याए । राज्यलाई आफ्नो नीजि सम्पति ठानेर दोहन गर्नतर्फ लाग्दा नयाँ पुस्ता झ राजनीतिक पार्टीप्रति दिक्दार बन्दै गए ।

वर्तमान परिपेक्ष्यमा माओवादी केन्द्रले सम्पूर्ण कमिटिका संरचनाहरु विघटन गरी नयाँ कमिटि गठनको घोषणा गरिसकेको छ । पुनः प्रचण्ड दोहोरिन्छ दोहोरिदैनन् (यो उसै पार्टीको कुरा भयो, त्यसैगरी नेपाली कांग्रेसमा पनि नेतृत्व हस्तान्तरणको लागि हस्ताक्षर अभियान नै चलिसकेको छ । तर, उदेक लाग्ने कुरा त के छ भने मुलुक कै दोश्रो ठुलो राजनीतिक पार्टी एवम् जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मौन रहनु, लाग्छ देशमा केहि पनि भएको छैन झैँ गरि एउटा बैठकसम्म राख्ने सोचमा नरहनु, सिंगो मुलुक अनि नेकपा एमाले पार्टीलाई नै हानिकारक रहेको छ । अझ करिब तीन सय जनामाथि रहेको एमाले केन्द्रिय कमिटिका सदस्यहरु पार्टीको बैठकसम्म राखौ भनि अवाज उठाउन नसकेको देख्दा यो एमाले भन्ने पार्टी कुन धातुले बनेको रहेछ भनि आम मानिसको चासोको विषय बनेको छ। 

नेपालको प्रशासनिक भवन सिंहदरबार पहिलो चोटी जलेको होइन, यो भन्दा पहिला पनि वि.सं २०३० सालमा एक चोटी जलेर पुर्न निर्माण गरिएको हो । सो समय नेपालमा एक दलिय पंचायती व्यवस्था कायम थियो र त्यस बेलाका प्रधानमन्त्री थिए, कृतिनिधि बिष्ट । अहिलेसम्म सिंहदरबार कसले जलायो रु कसरी जल्यो भन्ने विषय इतिहासको गर्वमा नै लुकेको छ । त्यसबेला सम्पूर्ण सत्ताको बागडोर राजदरबारमा केन्द्रित हुने गर्दथ्ये । दरबारले पटक पटक राजीनामा नदिन अनुरोध गर्दा गर्दै पनि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिए र केहि समय सत्ताको चलखेल र राजनीतिबाट टाढा बसे । 

अहिलेको अवस्था भनेको सिंहदरबार मात्रै होइन मुलुकका कयौं भवनहरु जलेर खरानी भएका छन् । यो आन्दोलनमा करिब ७० जनाको त ज्यान नै गयो, ठुलो व्यवसायी, उद्योगहरुको बिचल्ली भएको छ । सिंगो मुलुकभर जनआक्रोश बढेको छ । यस्तो विकराल परिस्थितिमा केपी ओलीले यथाशिघ्र पार्टी अध्यक्षबाट राजीनामा दिएर नयाँ पुस्तालाई सम्पूर्ण पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नु सिवाय अरु कुनै विकल्प नै छैन । यसो गर्दा नै सिंगो मुलुक, पार्टी र जनताको हितमा रहन्छन् होइन भने नेकपा एमाले पार्टी पनि यो देशमा थियो भनि इतिहासको पानामा मात्रै सिमित रहला भन्न सकिन्न ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow