को हुन् मदन भण्डारी ? जबजका १४ बुँदाहरु के-के हुन ?

 0  89
को हुन्  मदन भण्डारी ? जबजका १४ बुँदाहरु के-के हुन ?

नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाघुमा भएको हो। बुवा देविप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला सन्तानको रुपमा मदन भण्डारीको जन्म भएको थियो । उनको न्वारनको नाम मोतीराज थियो । सामान्य कृषकको पारिवारिक पृष्ठभुमि रहेको भण्डारी परिवार २०२६ सालमा मोरङको दुलरी गाविसको लोचनीमा बसाइँ सरेको थियो। 

बनारस संस्कृत विश्वविद्यालयबाट शास्त्री र आचार्य तहको अध्ययन पुरा गरेका भण्डारी विषयवस्तुको गहिराईसम्म पुगेर अध्ययन विश्लेषण गर्ने क्षमता राख्दथे। साहित्य, खेलकुद र राजनीतिमा विषेश चासो राख्ने उनको बहु आयामिक प्रतिभा र सक्रियता देखेर पार्टीले २०२९ सालमा सदस्यता प्रदान गरेको थियो । त्यसअघि उनी विद्यार्थी नेताको रुपमा समेत परिचित थिए । २०३३ सालतिर तत्कालिन कोर्डिनेशन केन्द्र संगठन बिस्तारतिर लाग्यो । २०३५ सालमा नेकपा (माले) गठन भयो, त्यहि बेला भण्डारी मालेको राजनीतिमा सक्रिय भइ साङ्गठनिक काममा लागे । पार्टी भुमिगत नै थियो, शीर्ष नेताहरु सबै जेलमा थिए। त्यस्तो चुनौतीपूर्ण परिस्थितिमा भण्डारीले साङ्गठनिक बिस्तारको जिम्मेवारीसँगै पन्चायत विरोधी आन्दोलनको नेतृत्व गर्दै अन्ततः सफल बैचारिक र साङ्गठनिक नेतृत्वका कारण नेपाल कम्युनिष्ट पार्टीलाइ राजनीतिक पार्टीको नयाँ राजनीतिक सिद्धान्त प्रतिपादन गर्न सफल भए। 

२०३९ साउन १४ गते भोजपुरका विद्या पाण्डेसँग वैवाहिक जीवनमा बाँधिएका भण्डारीका दुइ छोरीहरु उषा किरण र निशाकुसुम छन्। मदन भण्डारीकी पत्नी गणतन्त्र विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति सहित २ कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरिसकेका छन्। यसअघि नेकपा एमालेका उपाध्यक्ष रहिसकेका पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने तयारीले नेपाली राजनीति तरंगित छ।
     
विश्व कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको बेला नेकपा एमालेको पाँचौं महाधिवेशनमार्फत मदन भण्डारीद्वारा प्रस्तुत जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा पारित भएको थियो। जसको चर्चा संसारभर हुन थालेको थियो भने संसारका विभिन्न देशहरुका भ्रमणको निम्तो आउन थालेको थियो। 

अमेरिकाको साप्ताहिक  News Week ले "In Nepal Karl Marx Lives" 

शीर्षक दिँदै मदन भण्डारीको अन्तर्वार्ता प्रकाशन गरेको थियो। आज पनि नेकपा एमालेले जबजलाई मार्ग निर्देशक सिद्धान्त मान्दै आफ्नो राजनीतिक गतिविधि अगाडि बढाइ रहेको छ भने यसको समय सापेक्ष थप व्याख्या र विश्लेषण हुनुपर्ने आवाज पनि उठिरहेको छ। 

जबज के हो ?

जनताको बहुदलीय जनवाद (जबज) नेपालको चर्चित नेता स्व.मदन भण्डारीद्वारा प्रतिपादित राजनीतिक बिचारधारा हो, जसलाई नेकपा एमालेले मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगालेको छ। जबजलाई नेपालको विशिष्ट राजनीतिक सिद्धान्त मानिन्छ, जसले मार्क्सवाद - लेनिनवादलाई नेपाली समाजमा उपयुक्त रूपमा लागू गर्ने अवधारणा प्रस्तुत गर्दछ। 

जबजको मूलभूत सार 

. जबज सामयवाद (Communism) र लोकतान्त्र (Democracy) बीचको फ्युजन हो।
. जबजले मार्क्सवादी-लेनिनवादी मूल सिद्धान्तलाई आत्मसात गर्छ तर सोभियत संघ र चीन जस्तो एकदलिय  व्यवस्थाको सट्टा बहुदलीय प्रतिस्पर्धालाइ स्वीकार गर्दछ।
. जबजले जनताको सर्वोच्चता, लोकतान्त्रिक प्रतिस्पर्धा, समाजवादी अर्थतन्त्र र राष्ट्रिय स्वाधिनताको संरक्षण जस्ता मूल्यहरुमा जोड दिन्छ। 

जबजका १४ वटा बुँदाहरु 

१. जनताको बहुदलीय जनवाद वर्गीय दृष्टिकोणमा आधारित समाजवादी लोकतान्त्र हो।
२. यो सिद्धान्त क्रान्तिको चरणको नभई बहुआयामिक दृष्टिकोण हो।
३. शान्तिपुर्ण ढंगबाट समाजवादी परिवर्तन सम्भव छ।
४. वर्ग संघर्ष समाप्त नभए पनि यसको स्वरुप लोकतान्त्रिक हुन्छ।
५. बहुदलीय प्रतिस्पर्धा समाजवादमा पुग्ने वैकल्पिक बाटो हो।
६. संघर्षको केन्द्र जनताको हीत र राष्ट्रको स्वाधीनतामा केन्द्रित हुन्छ।
७. पार्टी जनताको बीचमा रहेको बैचारिक, नैतिक र राजनीतिक नेतृत्व हो।
८. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र आत्मनिर्भरता समाजवादको आधार हो।
९. लोकतन्त्र, स्वतन्त्र, मानव अधिकार र विधिको शासनलाई पूर्ण समर्थन गर्छ।
१०. अन्तर्राष्ट्रिय साम्यवादमा ठोस सहयोग र राष्ट्रिय स्वार्थमा प्राथमिकता दिनुपर्छ।
११. समाजवादको अन्तिम लक्ष्य शोषण रहित र समतामूलक समाज निर्माण हो।
१२. श्रम,उत्पादन र वितरणमा न्याय र समानताको व्यवस्था हुनुपर्छ।
१३. सांस्कृतिक स्वतन्त्रता, जातिमा पहिचान र भाषिक विविधता सम्मान गरिन्छ।
१४. सिद्धान्त र व्यवहारको सन्तुलन कायम गर्दै समाजवादमा पुग्नु पर्छ। 

पोखरामा पार्टीको सबै काम सिध्याएर काठमाडौं फर्किने क्रममा वि.सं २०५० जेठ ३ गते दासढुङ्गामा संगठन विभाग प्रमुख जिवराज आश्रित सहित मदन भण्डारीको रहस्यमय दुर्घटनामा परेर निधन भएको थियो । 

स्व. मदन भण्डारीसहित जिवराज आश्रितप्रति हार्दिक श्रद्धासुमन ।  

( श्रीराम गुरुङ (तमु) रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य हुन्  )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow