नेपाल सुनचाँदी कला व्यवसायी संघको १०औँ केन्द्रीय अधिवेशन : को बन्ला नयाँ अध्यक्ष ?

 0  33
नेपाल सुनचाँदी कला व्यवसायी संघको १०औँ केन्द्रीय अधिवेशन : को बन्ला नयाँ अध्यक्ष ?

काठमाडौं, १९ जेठ।
नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारण सभा तथा १०औँ केन्द्रीय अधिवेशन आगामी २०८३ साल जेठ २३ गते शनिबार काठमाडौंको होटेल रेडिसन, लाजिम्पाटमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ।

संघले साधारण सभा तथा अधिवेशनमा सम्पूर्ण सदस्य व्यवसायीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गरेको छ। यसपटकको अधिवेशनलाई सुनचाँदी तथा आभूषण व्यवसायी क्षेत्रले विशेष चासोका साथ हेरेको छ, किनभने अधिवेशनबाट संघको नयाँ कार्यसमिति चयन हुने मुख्य कार्यक्रम रहेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संस्थापक सदस्यका रूपमा रहेको यस संघको नेतृत्व चयनले संघभित्र मात्र नभई समग्र सुनचाँदी तथा आभूषण क्षेत्रको भावी शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ। यही कारण आगामी नेतृत्व कसको हातमा पुग्ला भन्ने विषयमा व्यवसायी वृत्तमा चर्चा बढेको छ।

हालका अध्यक्ष घनश्याम रिजाल पुनः अध्यक्षमा नदोहोरिने संकेत देखिएको छ। उनी राष्ट्रिय सभाका सदस्यसमेत भएकाले यसपटक संघको नेतृत्व नयाँ व्यक्तिमा जाने सम्भावना बलियो रहेको व्यवसायीहरू बताउँछन्।

अहिलेसम्मको अवस्थालाई हेर्दा संघका प्रथम उपाध्यक्ष विष्णुभक्त बराईली र महासचिव बालकुमार विश्वकर्मा ‘सुमन’ अध्यक्ष पदका प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। सदस्य तथा जानकारहरूका अनुसार दुवै जनाले आफूलाई आगामी अध्यक्षको दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन्। यसले अधिवेशनमा सर्वसम्मतभन्दा पनि निर्वाचन हुने सम्भावना बढाएको छ।

दुवै पक्ष आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा जान सक्ने आकलन गरिएको छ। यस्तो अवस्था बनेमा यसपटकको अधिवेशन निकै प्रतिस्पर्धात्मक, पेचिलो र रोचक बन्ने सदस्य मतदाताहरूको भनाइ छ। यद्यपि, अहिले नै कसको पल्ला भारी हुन्छ भन्नेबारे स्पष्ट रूपमा भन्न नसकिने अवस्था रहेको उनीहरू बताउँछन्।

विश्लेषकहरूका अनुसार अधिवेशनको परिणाममा वर्तमान अध्यक्ष घनश्याम रिजाल, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रथम उपाध्यक्ष द्वारिका शंकर, सचिव केशर सेन्चुरी, सहकोषाध्यक्ष दिपक धानुकेलगायत प्रभावशाली व्यक्तिहरूको भूमिका निर्णायक बन्न सक्छ। तर, हालसम्म उनीहरू खुलेर कुनै पक्षमा नदेखिएकाले चुनावी समीकरण अझै स्पष्ट भइसकेको छैन।

एक वर्षपछि हुन लागेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अधिवेशनलाई पनि मध्यनजर गर्दै महासंघको नेतृत्व तहले संघको अधिवेशनलाई गम्भीर रूपमा लिएको अनुमान गरिएको छ। संघको नेतृत्वमा आफ्नो नजिकको टिम ल्याउन विभिन्न पक्षहरू आन्तरिक तयारीमा जुटेको व्यवसायी वृत्तमा चर्चा छ।

यस कारण अहिले सुनचाँदी क्षेत्रभित्र नेतृत्व, समूहगत समीकरण, समर्थन र आगामी चुनावी रणनीतिबारे व्यापक छलफल भइरहेको छ। संघको यो अधिवेशनले केवल नयाँ कार्यसमिति चयन गर्ने मात्र नभई आगामी दिनमा समग्र सुनचाँदी तथा आभूषण क्षेत्रको नेतृत्व संरचना र शक्ति सन्तुलनसमेत निर्धारण गर्न सक्ने देखिन्छ।

त्यसैले जेठ २३ गते हुने नेपाल सुनचाँदी कला व्यवसायी संघको १०औँ केन्द्रीय अधिवेशनमा विष्णुभक्त बराईली र बालकुमार विश्वकर्मा ‘सुमन’मध्ये कसले नेतृत्व सम्हाल्ने हुन् भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow