नेतृत्वलाई कालोबजारी ,बिचौलिया प्यारो हुँदा के हुँदोरहेछ ? त्यसको सही उत्तर हो जेनजी आन्दोलन-शालिकग्राम बसेल

जेनजी अर्थात नयाँ प्रविधि मैत्री पुस्ताको आन्दोलन निश्चित विचार, दल वा समूहको आन्दोलन थिएन । सिङ्गो मुलुकभरि एक पुस्ता एकाकार भएर चलेको विद्रोह थियो जसले मुलुकमा लामो समय देखि भएको भ्रष्टाचारको बिरोध, नेताहरूको परिवारको विलासी जिन्दगीको विरोध र युवा पुस्तामा जीवन बनिसकेको सामाजिक सञ्जाल बन्दको माग राखी सुरु गरेका थिए ।
त्यसमा विभिन्न देशी, विदेशी स्वार्थीहरू छिरे , मुलुकले धेरै कुरा गुमाउनु पर्यो र यसआन्दोलनले तत्काललाई विश्राम लिएको छ तर यसलाई ‘सकियो’ भनेर बुझ्नु सबभन्दा ठूलो मूर्खता हुनेछ । हामी नसच्चिँदा सम्म यो बिचार र आन्दोलन सकिँदैन । अहिलेको अवस्थामा यो आगोको भुङ्ग्रो केवल पातलो खरानीले छोपिएको जस्तो मात्रै हो ।
एकातिर हाम्रा आफ्नै घरका छोराछोरी र भाइबहिनीहरू वास्तवमा जेनजी आन्दोलनमा होमिएका थिए भने अर्कोतिर हामी नै सरकार र पार्टीका विभिन्न जिम्मेवारीमा थियौँ । जनताको कुरा त छाडिदिऔं !आफ्नै घरका सन्तानलाई पनि हामीले यथार्थ कुरा बुझाउन सकेका रहेनछौँ । देश, जनता र पार्टीका नाममा जीवन अर्पण गरेका नेता, कार्यकर्ताहरू भन्दा नेतृत्व तहलाई कालोबजारी ,बिचौलिया प्यारो हुँदा के हुँदोरहेछ ? त्यसको सही उत्तर हो जेनजी आन्दोलन । पार्टीभित्र नेतृत्वको अन्धभक्ति एवं देवत्वकरण कति महँगो पर्दो रहेछ ?
कार्यकर्ताको अभिवाबक र जनताको सेवक नबनेर सामन्ती र शासक बन्दाको उत्तर हो जेनजी आन्दोलन । पार्टीको जनवर्गीय सङ्गठनका अधिवेशन गराउने ! अधिवेशनको उद्घाटन पूर्व नै पार्टीको मूल नेतृत्वले फलानो र चिलानोका नाममा टीको दलेर नेता घोषणा गर्ने प्रचलनले सम्बन्धित दललाई मात्रै हैन सिङ्गो मुलुकलाई कहाँ पुरायो ? यसको उत्तर खोज्न सिरिफ जेनजी आन्दोलन सम्झिए पुग्छ ।
यी सबै घटना र सन्दर्भले भन्छ, हामीहरू जसरी चलिरहेका छौँ, त्यसरी अब देश जनता र राजनैतिक पार्टी कुनै हालतमा चल्दैन । पुस्तान्तरण र नेतृत्व हस्तान्तरण आजको अनिवार्य शर्त हो । यसमा कुनै ‘ईफ’ र ‘बट’ सब्द्को प्रयोग नै हुनुहुँदैन अझैपनि पार्टी भित्रका दलालहरु तिनै नेताको दलाली गरेर आफ्नो रोटि सेक्न खोज्दैछन , इमान्दार कार्यकर्ताले यस्ता दलालहरुलाई बेलैमा चिनेर नाग्गेझार बनाउनु पर्छ र हामीले अब पनि त्यति हिम्मत गर्न सकेनौ भने हामी पनि सकिन्छौ, पार्टी पनि सकिन्छ र देश पनि सकिन्छ ,बेलैमा सबैले सोचौ ।
अबको अनिवार्य सर्त भनेको पुस्तान्तरणसहितको पुनर्गठनमार्फत नेतृत्वको हस्तान्तरण हुनुनै हो, त्यसैले अब ढिला नगरी राजनीतिक दलका दोस्रो, तेस्रो र चौथो तहसम्मका नेता र कार्यकर्ताहरू आफ्नो साझा दायित्व निर्वाह गर्न सबैजना अगाडी बढौ । पुराना दलका नेताहरुले के कुरा बुझ्नु जरुरी छ भने २३ र २४ गते भएको जनाताको आक्रोस भन्दा ठुलो आक्रोस पार्टीका इमान्दार कार्यकर्ता भित्र रहेको छ अब पनि टालटुले गरेर फेरी यसरीनै चल्छ भन्ने सोच राख्नु भनेको बर्तमान नेतृत्वको मुर्खता र महाभूल हुनेछ ।
तसर्थ, अब लम्बेचौडे कुरा छैन । यो परिवर्तनलाई आत्मसाथ गरौ ! जनाताको बिचमा गएर माफि मागौ ! जनताको साशक होइन सेवक बन्ने आजै वाचा गरौ विशेषतः नेकपा एमाले, नेपाली कांग्रेसजस्ता देशका जिम्मेवार र निर्णायक राजनीतिक शक्तिलाई जनताको बीचमा जीवित राख्ने हो ! गणतन्त्र, लोकतन्त्र र जनअधिकारको रक्षा गर्ने हो भने ती दलमा बिनाशर्त पुस्तान्तरण हुनु अनिवार्य छ ।
What's Your Reaction?






