सुनचाँदी व्यवसायमा यस कारण स्थापना भयो- अध्यक्ष फोरम
खेम तिरुवा
नेपालको सुनचाँदी व्यवसाय केवल व्यापारको माध्यम मात्र होइन, यो नेपाली समाजको संस्कृति, परम्परा, विश्वास र अर्थतन्त्रसँग गहिरो रूपमा जोडिएको क्षेत्र हो। विवाहदेखि धार्मिक संस्कारसम्म सुनचाँदीका गरगहनाहरू अपरिहार्य मानिन्छन्। यही कारणले यो व्यवसायले लाखौं उपभोक्ताको विश्वास, हजारौं व्यवसायीको लगानी तथा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीपलाई समेटेको छ।
यद्यपि, पछिल्ला केही वर्षयता यस क्षेत्रमा विभिन्न चुनौतीहरू देखिएका छन्। बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, संस्थागत असमन्वय, एउटै विषयमा फरक–फरक अभ्यास, आचारसंहिताको कमजोर कार्यान्वयन तथा व्यवसायीहरूको सुरक्षासम्बन्धी चुनौतीले सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र अनुशासित बनाउनु पर्ने आवश्यकता झन् टड्कारो बनाएको छ।
विशेषगरी, काठमाडौँ उपत्यका देशकै सबैभन्दा ठूलो सुनचाँदी व्यापारिक केन्द्र हो। यहाँ विभिन्न जिल्लागत तथा स्थानीय व्यवसायी संघसंस्थाहरू सक्रिय छन्। ती संस्थाहरूले आ–आफ्नो क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका भए पनि साझा विषयमा एउटै धारणा बनाउन नसक्दा व्यवसायीहरूले अनावश्यक अन्योल र समस्या भोग्नुपरेको यथार्थ सबैलाई थाहा छ।
यही आवश्यकतालाई महसुस गर्दै काठमाडौँ उपत्यकाका विभिन्न सुनचाँदी व्यवसायी संघसंस्थाका अध्यक्षहरूलाई एउटै साझा मञ्चमा ल्याई ‘अध्यक्ष फोरम’ गठन गरिएको हो। यो कुनै नयाँ छाता संगठन वा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको विकल्प होइन। बरु महासङ्घसँग समन्वय गर्दै साझा मुद्दामा एकमत कायम गर्ने, संस्थाहरूबीच सहकार्य अभिवृद्धि गर्ने तथा व्यवसायलाई थप व्यवस्थित र अनुशासित बनाउने उद्देश्यले यसको स्थापना गरिएको हो।
अध्यक्ष फोरमको मूल उद्देश्य संवाद, समन्वय र सहकार्यलाई संस्थागत गर्नु हो। व्यवसायका साझा समस्याको सामूहिक समाधान खोज्ने, बजार व्यवस्थापनमा एकरूपता ल्याउने, संस्थाहरूबीच आपसी विश्वास र सहकार्य बढाउने तथा आवश्यक पर्दा सम्बन्धित सरकारी निकायसँग एउटै आवाजमा आफ्ना धारणा प्रस्तुत गर्ने यसको प्रमुख लक्ष्य हो।
सुनचाँदी व्यवसायमा आज पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयन चुनौतीकै रूपमा रहेको छ। कुनै संस्थाले कारबाही गरेको व्यवसायी अर्को संस्थामा आबद्ध भएर सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था रहँदा व्यावसायिक अनुशासन कायम गर्न कठिन भइरहेको छ। यसले इमानदार व्यवसायीहरूको मनोबल कमजोर बनाउनुका साथै संस्थागत निर्णयको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। त्यसैले उपत्यकाभित्र रहेका सबै संघसंस्थाले साझा निर्णयलाई समान रूपमा कार्यान्वयन गर्ने प्रणाली विकास गर्नु समयको आवश्यकता हो।
त्यसैगरी, व्यवसायीहरूको सुरक्षा पनि उत्तिकै संवेदनशील विषय हो। सुनचाँदी उच्च मूल्यका वस्तुसँग सम्बन्धित व्यवसाय भएकाले चोरी, लुटपाट तथा अन्य आपराधिक घटनाको जोखिम सधैँ रहन्छ। यस्तो अवस्थामा कुनै पनि व्यवसायी समस्यामा पर्दा उनी कुन संस्थामा आबद्ध छन् भन्नेभन्दा पनि उनी सुनचाँदी व्यवसायी हुन् भन्ने आधारमा सबै संस्थाले एकताबद्ध भएर सहयोग गर्ने संस्कार विकास हुनुपर्छ। साथै, नेपाल प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग नियमित समन्वय गर्दै व्यवसायीहरूको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ।
बजार व्यवस्थापनका सवालमा पनि साझा मापदण्डको आवश्यकता बढ्दो रूपमा महसुस गरिएको छ। शनिबार सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय होस् वा पुराना गरगहनाको खरिद–बिक्रीमा समान मापदण्ड लागू गर्ने निर्णय—यी कुनै व्यक्ति वा संस्थालाई लक्षित गरेर गरिएका निर्णय होइनन्। यिनको मूल उद्देश्य बजारमा अनुशासन, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा कायम गर्नु हो। एउटै व्यवसायमा फरक–फरक अभ्यास हुँदा उपभोक्तामा अन्योल सिर्जना हुन्छ भने व्यवसायीहरूबीच अनावश्यक प्रतिस्पर्धा बढ्छ। साझा निर्णयले यस्ता विकृतिलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
आजको आवश्यकता नयाँ संस्था थप्ने होइन, भएका संस्थाहरूबीचको दूरी घटाएर विश्वास र सहकार्यको सम्बन्धलाई अझ सुदृढ बनाउनु हो। हामी सबै एउटै व्यवसायका प्रतिनिधि हौँ। हाम्रो सफलता पनि साझा हो र चुनौती पनि साझा हो। त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायको दीर्घकालीन हितलाई केन्द्रमा राख्न सकियो भने मात्र यो क्षेत्र अझ विश्वासिलो, मर्यादित र व्यवस्थित बन्न सक्छ।
काठमाडौँ उपत्यकाबाट सुरु भएको अध्यक्ष फोरमको अवधारणा सफल भए यसले भविष्यमा देशभरका सुनचाँदी व्यवसायीहरूका लागि अनुकरणीय अभ्यासको रूप लिन सक्छ। एकता, अनुशासन, पारदर्शिता र सहकार्यलाई व्यवहारमा उतार्न सकियो भने सुनचाँदी व्यवसायको दीर्घकालीन विकासका लागि यो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ।
अन्ततः, बलियो व्यवसायका लागि बलियो व्यवसायी आवश्यक हुन्छन्। बलियो व्यवसायीका लागि बलियो संस्था आवश्यक हुन्छ, र बलियो संस्थाका लागि आपसी विश्वास, अनुशासन र सहकार्य अपरिहार्य हुन्छ। यही सोचलाई व्यवहारमा रूपान्तरण गर्न सके सुनचाँदी व्यवसायको भविष्य अझ सुरक्षित, व्यवस्थित, प्रतिस्पर्धी र सम्मानित बन्नेमा कुनै द्विविधा छैन।
(लेखक-नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च अध्यक्ष हुन् )
What's Your Reaction?





