अमेरिका पठाउन लागिएका ठूलो परिमाणका गरगहना त्रिभुवन विमानस्थलबाट बरामद, दुई जना पक्राउ

 0  28
अमेरिका पठाउन लागिएका ठूलो परिमाणका गरगहना त्रिभुवन विमानस्थलबाट बरामद, दुई जना पक्राउ

काठमाडौं, १८ असार | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका निर्यातका लागि पठाउन लागिएको सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना ठूलो परिमाणमा बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५:३० बजे कार्गो कम्प्लेक्स भवनमा निर्यातका लागि तयार पारिएको एक कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि थप जाँच गरिएको थियो। बाकस खोलेर निरीक्षण गर्दा विभिन्न प्रकारका परम्परागत तथा सजावटी गरगहना फेला परेका हुन्।

बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८/१८ थान सिङ्गल तथा डबल ब्रोच, ५ थान ठूला र २ थान साना शिरफुल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल रहेको सुरक्षा स्रोतले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट उक्त सामग्री बौद्धस्थित युनिक कार्गोमार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट संयुक्त राज्य अमेरिका पठाउने तयारी गरिएको खुलेको छ।

घटनासँग सम्बन्धित रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गोका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सम्पूर्ण गरगहना तथा पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow