कर्मचारीलाई नयाँ आचारसंहिता, कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक

 0  5
कर्मचारीलाई नयाँ आचारसंहिता, कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक

काठमाडौं, असार १ । सरकारले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा सो जिम्मेवारी सम्हाल्न तोकिएका कर्मचारीहरूको आचरणलाई थप अनुशासित, पारदर्शी र सदाचारयुक्त बनाउन नयाँ आचारसंहिता लागू गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठ २७ गतेदेखि लागू हुने गरी जारी गरेको उक्त आचारसंहितामा कर्मचारीको व्यावसायिक व्यवहार, सेवाग्राहीसँगको सम्बन्ध, सामाजिक सञ्जाल प्रयोग तथा कार्यसम्पादनसम्बन्धी विभिन्न व्यवस्था समेटिएका छन्।

आचारसंहिताअनुसार कार्यालय समय अवधिमा मोबाइल फोन वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि फेसबुक, एक्स (ट्वीटर), ह्वाट्सएप, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाल प्रयोग गर्न पाइने छैन। कार्यालय समयलाई पूर्ण रूपमा सार्वजनिक सेवामा केन्द्रित गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, कुनै पनि कामको सिलसिलामा स्थलगत भ्रमणमा जाँदा सम्बन्धित सेवाग्राही, निर्माण व्यवसायी वा स्थानीय तहका सेवा प्रदायकको सौजन्यमा होटल बसाइ, खाजा–खाना, सवारीसाधन वा अन्य कुनै प्रकारका सुविधा लिन नपाइने स्पष्ट उल्लेख गरिएको छ।

कार्यालय समयबाहेक सामाजिक सञ्जाल प्रयोग गर्दा समेत सार्वजनिक सेवाको मर्यादा, निष्पक्षता र नागरिकको विश्वासमा आँच नपुग्ने गरी उच्च सतर्कता अपनाउनुपर्ने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले जारी गरेको आचारसंहितामा कुल आठ वटा प्रमुख विषय समेटिएका छन्। स्थानीय तहमा सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कर्मचारीको उत्तरदायित्व बढाउने तथा सार्वजनिक सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow