कहाँ छन् बिपिन जोशी ? 

 1  40
कहाँ छन् बिपिन जोशी ? 

हेम राई 

कहाँ छन् बिपिन जोशी ? 

रिटर्नी फेडेरेशन नेपालले करिब १ वर्ष देखि अपहरणमा परि लापत्ता बनाइएका नेपाली नागरिक बिपिन जोशीको सकुशल रिहाइको माग गरेको छ। नेपाल र नेपाली जनता शान्तिको पक्षमा रहेको साथै इजरायल र हमास बिचको युद्धमा नेपालको तठष्ट भूमिका रहेको परिप्रेक्षमा यसरी एउटा निर्दोष नेपाली नागरिकको अपहरण प्रति रिटर्नी फेडेरेशन नेपालले गहिरो दुख व्यक्त गरेको छ।

नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास समुह द्वारा युद्धको क्रममा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताए पछि फेरी यो विषय चर्चामा आएको छ। नेपाली पत्रकारहरूसँगको अन्तरक्रियाको क्रममा अरब राष्ट्रहरूबाट प्राप्त जानकारी अनुसार विपिन जोशी जीवित रहेको उनले बताएका हुन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने पूर्ण रुपमा जानकारी नरहेको बताए । बिपिन अपहरण मुक्त भई चाँडै नेपाल फर्कने आशा राखेको इजरायली राजदूत स्मुलिक एरी बासले बताए। गत वर्ष सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा परी कृषि छेत्रका १० जना नेपाली विद्यार्थीसमेत ११ सयभन्दा धेरैले ज्यान गुमाएका थिए ।

हमासले २५१ जनालाई बन्धक बनाएर लग्यो। ती बन्धकहरू मध्ये नेपालका बिपिन जोशीलाई पनि बन्धक बनाएर लगिएको नेपालस्थित इजरायली दूतावासको भनाइ छ। तर करिब एक वर्ष बितिसक्दा पनि विपिनको बारेमा ठोस जानकारी प्राप्त हुन सकेका छैन । बिपिन जोशी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका -३, भाषीका निवासी हुन्। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत जोशी ' लर्न एन्ड अर्न ' कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। करिब एक वर्ष अगाडि भदौ अन्तिम साता सहपाठीहरूसँगै इजरायल पुगेका उनी इजरायलको दक्षिणी क्षेत्रमा कार्यरत थिए। पछिल्लो जानकारी अनुसार, जोशीलाई हमासले बन्धक बनाएको पुष्टि भएको थियो । हमास समुहले एक वक्तव्य जारी गर्दै भनेको छ - इजरायलले सुरु गरेको आक्रमण पूर्ण रुपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसहरूलाई मुक्त नगर्ने जनाएको छ। यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहित अन्य मुलुकका केही विदेशी बन्धकहरूलाई रिहा गरे पनि नेपालका नागरिक विपिन जोशी भने रिहा भएका छैनन्। नेपाल सरकारले इजरायल- हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्ट सहितका देशहरूमार्फत् जोशीको रिहाइका लागि पहल भइरहेको जनाए पनि अझ सम्म बिपिन जोशीको अवस्था अज्ञात नै रहेको छ। यसअघि इजरायली सेनाले गाजाको एउटा अस्पतालको सीसीटीभी क्यामरामाको भिडिओमा नेपाली बन्धक पनि देखिएको उल्लेख गरेको थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow