चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने शिक्षामन्त्रीको घोषणा

 0  8
चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने शिक्षामन्त्रीको घोषणा

काठमाडौं, ७ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने बताएका हुन्।

अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने बताउँदै मन्त्री पोखरेलले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गरे।

मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। उच्च शिक्षामा सरकारले ५ वर्षको नीति, भिजन र मिसनबारे विश्वविद्यालयको नेतृत्वसँग छलफल गरिरहेको उनले बताए । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्नेमा मन्त्री पोखरेलको जोड छ ।

विश्वविद्यालयलाई स्वायत्त भएर काम गर्न उनले आग्रह गरे । त्रिविको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई निर्देशन दिँदै मन्त्री पोखरेलले त्रिविको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow